अमेरिका पठाउन लागिएको सुनचाँदीका गहनासहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको सुन तथा चाँदीजस्ता देखिने धातुका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार असार मंगलबार साँझ करिब ५ः३० बजे कार्गो कम्प्लेक्स भवनमा रहेको एक कार्गो बाकसको एक्स–रे परीक्षणका क्रममा शंका लागेपछि खोलिएको थियो ।

त्यसमाा जुत्ता, पाइन्ट, साडी तथा अन्य कपडा रहेको उल्लेख भएपनि जाँचका क्रममा ठूलो परिमाणमा सुन तथा चाँदीजस्ता देखिने धातुका गहना फेला परेका हुन् । प्रहरीका अनुसार बरामद सामग्रीमा सुनजस्ता देखिने नौगेडी, चन्द्रमा, जन्तर, सिंगल तथा डबल ब्रोच, शिरफूल, नेपालको झण्डा अंकित ब्रोच, खुकुरी आकारका ब्रोच र मंगलसूत्र रहेका छन्। त्यस्तै चाँदीजस्ता देखिने नेकलेस, चुरा, शिरबन्दी सेट, झुम्का, तिलहरी र सिक्रीसमेत बरामद गरिएको छ ।

अनुसन्धानका क्रममा उक्त सामग्री बौद्धस्थित युनिक कार्गो झापामार्फत एपेक्स लजिस्टिक प्रालिको माध्यमबाट काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको खुलेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापाका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई पक्राउ गरिएको छ । बरामद गरिएका धातुका गहना र पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *