सर्वोच्च अदालतद्वारा जन्मसिद्ध नागरिकता सीमित गर्ने ट्रम्पको आदेश खारेज

रोयटर्स । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने कार्यकारी आदेशलाई असंवैधानिक ठहर गर्दै खारेज गरेको छ। मंगलबार सार्वजनिक भएको फैसलामा अदालतले उक्त आदेश अमेरिकी संविधानको १४औँ संशोधनविपरीत रहेको निष्कर्ष निकालेको हो ।

६–३ को बहुमतले सुनाएको फैसलामा प्रधानन्यायाधीश जोन रोबट्र्सले संविधानले केही सीमित अपवादबाहेक अमेरिकामा जन्मिने सबै व्यक्तिलाई नागरिकताको अधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन्। उनका अनुसार १४औँ संशोधनले अमेरिकामा जन्मिएका र अमेरिकी कानुनी अधिकारक्षेत्रभित्र पर्ने व्यक्तिलाई स्वतः नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेको पहिलो दिन नै जारी गरेको कार्यकारी आदेशमा अमेरिकामा जन्मिएका तर दुवै अभिभावक अमेरिकी नागरिक वा कानुनी स्थायी बासिन्दा नभएका बालबालिकालाई नागरिकता नदिने व्यवस्था गरिएको थियो। अध्यागमन नियन्त्रणलाई प्राथमिकतामा राख्दै ल्याइएको उक्त आदेशको व्यापक आलोचना भएको थियो।

विज्ञहरूका अनुसार आदेश कार्यान्वयन भएको भए हरेक वर्ष जन्मिने करिब २ लाख ५० हजार शिशुको नागरिकता प्रभावित हुने र लाखौं परिवारले आफ्ना नवजात शिशुको नागरिकता प्रमाणित गर्नुपर्ने अवस्था सिर्जना हुन सक्थ्यो।

यद्यपि सोही दिन सर्वोच्च अदालतले राज्यहरूलाई ट्रान्सजेन्डर विद्यार्थी खेलाडीहरूलाई महिला खेल टोलीमा सहभागी हुन प्रतिबन्ध लगाउने अधिकार भने दिएको छ। साथै, चुनावी वित्तसम्बन्धी केही कानुनी प्रतिबन्धहरू पनि खारेज गरेको छ।
ट्रम्पले राष्ट्रपतिको अधिकार र अध्यागमनसम्बन्धी केही मुद्दामा सफलता पाए पनि जन्मसिद्ध नागरिकताको मुद्दामा भने ठूलो कानुनी झट्का बेहोरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *