वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लिसा कुकलाई अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)को गभर्नर पदबाट हटाउने प्रयास तत्कालका लागि अस्वीकार गरेको छ । अदालतले फेडको स्वतन्त्रता कायम राख्दै कुकलाई पदमा यथावत् रहने अनुमति दिएको हो।
सर्वोच्च अदालतले ५–४ को बहुमतमा दिएको निर्णयमा ट्रम्पले कुकलाई हटाउँदा कानुनले सुनिश्चित गरेका प्रक्रियागत अधिकारको पालना नगरेको ठहर गरेको छ। अदालतका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा नगरी फेडका गभर्नरलाई पदमुक्त गर्न सकिँदैन।
यद्यपि, सोही दिन अर्को छुट्टै ऐतिहासिक फैसलामा अदालतले राष्ट्रपतिको अधिकार विस्तार गर्दै अन्य संघीय निकायका प्रमुख तथा आयुक्तहरूलाई हटाउने अधिकारलाई थप बलियो बनाएको छ। यस क्रममा अदालतले सन् १९३५ देखि कायम रहेको कानुनी नजिरसमेत उल्ट्याएको छ।
फेड सन् १९१३ मा स्थापना भएयता कुनै पनि अमेरिकी राष्ट्रपतिले फेडका गभर्नरलाई हटाउने प्रयास गरेका थिएनन्। ट्रम्पले गत अगस्टमा कुकमाथि पुष्टि हुन नसकेको मोर्टगेज ठगीसम्बन्धी आरोप लगाउँदै उनलाई पदमुक्त गर्न खोजेका थिए। फेडको गभर्नर बन्ने पहिलो अश्वेत महिला कुकले भने ती आरोप अस्वीकार गर्दै आफूलाई मौद्रिक नीतिसम्बन्धी मतभेदका कारण हटाउन खोजिएको दाबी गरेकी छन्।
मुख्य न्यायाधीश जोन रोवर्टसले फेडका गभर्नरहरू १४ वर्षे निश्चित कार्यकालका लागि नियुक्त हुने र गम्भीर कारण पुष्टि भएमा मात्र हटाउन सकिने उल्लेख गरेका छन्। उनले फेडको स्वतन्त्रता मौद्रिक नीतिलाई राजनीतिक हस्तक्षेपबाट जोगाउन आवश्यक रहेको बताएका छन्।
अदालतले कुकमाथिका आरोपको सत्यताबारे भने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ। अब यो मुद्दा पुनः तल्लो अदालतमा फर्किनेछ, जहाँ तथ्यगत विवादमाथि सुनुवाइ हुनेछ।
निर्णयपछि कुकले फेडले राजनीतिक दबाबबाट मुक्त भएर स्वतन्त्र रूपमा मौद्रिक नीति निर्धारण गर्नुपर्ने सिद्धान्तलाई अदालतले पुनः पुष्टि गरेको प्रतिक्रिया दिएकी छन्।
