काठमाडौं । नेपाली चलचित्र ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको दोस्रो चलचित्र ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै सिनेमाका दुई फरक शैलीका पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका पोस्टरमा सिनेमाका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई केन्द्रमा राखिएको छ। दुई पोस्टरले एउटै प्रेमकथाका फरक–फरक भाव र मनोविज्ञान प्रस्तुत गरेका छन् । निर्देशक थापा मगरका अनुसार ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो।
यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, जीवनशैली र भावनालाई सिनेमाको कथामा प्रस्तुत गरिएको उनले बताएका छन्। एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सोनम तोप्देन र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन्।
उनीहरूसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रमा क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन् भने बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन्।
