आंगिक क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सम्पूर्ण आंगिक क्याम्पसलाई क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार सूचना जारी गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको निर्देशनअनुसार उक्त व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो ।

परिपत्रअनुसार शिक्षा मन्त्रालयको असार ९ गतेको पत्र र त्यसलाई आधार मानेर विश्वविद्यालय अनुदान आयोगले असार १० गते दिएको निर्देशनमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने तथा ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’वा ‘भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्र विकास गर्ने उल्लेख गरिएको छ। निर्देशनालयले सोही व्यवस्था कार्यान्वयन गरी यथाशीघ्र आफ्नो कार्यालयमा प्रगति विवरण पठाउन सबै आंगिक क्याम्पस प्रमुखलाई अनुरोध गरेको छ।

परिपत्रमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज प्रतिनिधित्व हुन नसक्ने अवस्था तथा शैक्षिक गुणस्तरमा आएको गिरावटलाई सम्बोधन गर्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयन गर्न लागिएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *