रोयटर्स । इरान र अमेरिकाले फारसको खाडी क्षेत्रमा जारी सैन्य आक्रमण रोक्ने तथा हर्मुज जलडमरूमध्यसम्बन्धी विवाद समाधानका लागि वार्ता पुनः सुरु गर्न सहमति गरेका छन् । अमेरिकी अधिकारीका अनुसार पछिल्ला केही दिनदेखि जारी आक्रमण–प्रत्याक्रमणका कारण दबाबमा परेको अन्तरिम शान्ति सम्झौता जोगाउने प्रयासस्वरूप दुवै पक्षबीच यो सहमति भएको हो।
अमेरिकी अधिकारीका अनुसार जुन १७ मा भएको १४ बुँदे समझदारीपत्रअन्तर्गत प्राविधिक तहको वार्ता सबै विषयमा निरन्तर अघि बढाइनेछ । साथै हालका लागि दुवै पक्षले सैन्य गतिविधि रोक्ने र हर्मुज जलडमरूमध्यबाट जहाजहरूको आवतजावत निर्बाध रूपमा हुने व्यवस्था गरिनेछ।
यो सहमतिबारे सबैभन्दा पहिले समाचार सार्वजनिक गरेको एक्सियोसले एक वरिष्ठ अमेरिकी अधिकारीलाई उदृत गर्दै मंगलबार कतारमा वार्ता पुनः सुरु हुने जनाएको छ।
बिहीबार हर्मुज जलडमरूमध्यमा एक मालवाहक जहाजमा इरानी क्षेप्यास्त्र लागेपछि अमेरिका र इरानबीच आक्रमण तथा प्रत्याक्रमण तीव्र बनेको थियो। दुवै देशले जुन १७ मा भएको अन्तरिम युद्धविराम उल्लंघन गरेको आरोप एकअर्कामाथि लगाउँदै आएका छन्।
आइतबार बिहान इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको थियो। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यसम्बन्धी सम्झौता कार्यान्वयन नगरे कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए।
यसैबीच, इजरायलले आइतबार दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह समूहको भूमिगत संरचनामाथि पुनः आक्रमण गरी ध्वस्त पारेको जनाएको छ। शुक्रबार लेबनानसँग नयाँ युद्धविराम सम्झौता भएपछि शनिबार पनि इजरायलले आक्रमण गरेको थियो। इरानले भने व्यापक शान्ति कायम राख्न लेबनानमा जारी द्वन्द्व अन्त्य हुनुपर्ने जनाएको छ।
उता, अमेरिकी सेनाले पनि विश्वकै प्रमुख ऊर्जा ढुवानी मार्ग मानिने हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकरमाथि आक्रमण भएपछि इरानमाथि पुनः हवाई आक्रमण गरेको जनाएको थियो।
