काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभरस्मार्ट नबन्न सुझाव दिएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारलाई ओभरस्मार्ट नबन्न सुझाव दिएकी हुन् ।
कक्षा १२ को परीक्षाफलमा गम्भीर त्रुटि देखिएको भन्दै उनले सरकारलाई यस्तो बताएकी हुन् । उनले सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभरस्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको बताइन् । उनले कक्षा १२ को परीक्षाफलमा गम्भीर त्रुटि देखिएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन् ।
उनले भनिन्, ‘छिटो नतिजा सार्वजनिक गरेर स्मार्ट हुनु स्वागतयोग्य छ, तर नतिजाको शुद्धतामा नै असर गर्ने गरी प्रक्रियामा तोडमरोड गरिनु निन्दनीय छ। रिटोटलिङका नाममा विद्यार्थी लुट्ने काम बन्द गरियोस् र निःशुल्क पुनर्मूल्याङ्कन हुने व्यवस्था मिलाइयोस्। सभामुख महोदय, सरकार स्मार्ट बनोस्, त्यसमा हाम्रो सदैव शुभेच्छा छ, शुभकामना छ र साथ पनि छ । तर पटकपटक हरेक विषयमा प्रश्नै–प्रश्नले घेरीने गरेर सरकार ओभरस्मार्ट बन्न नलागोस् ।’
उनले सरकारले करिव ३० दिनभित्रै नतिजा सार्वजनिक गर्नुलाई उपलब्धिका रूपमा व्याख्या गरे पनि त्यो प्रत्युत्पादक बनेको बताइन्।
