काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन साहले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसका लागि माफी माग्नुपर्ने वा संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ ।
आइतबारको प्रतिनिधिसभा बैठमा नेकपा एमालेका सांसद सांसद पुष्पराज कँडेलले भविष्यमा नेपाल–भारतबीच सीमा सम्बन्धी वार्ता भए प्रधानमन्त्रीको यही अभिव्यक्ति नेपालविरुद्ध प्रमाण हुनसक्ने बताए ।
उनले भने, ‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधामन्त्रीले देशसँग माफी माग्नु पर्दछ । हामीले यो कुरा किन उठाइरहेको छौं भने कुनै दिन दुई पक्षबीच वार्ता भयो भने प्रधानमन्त्रीको भनाई नेपालको विरुद्धको प्रमाण हुन सक्छ ।’
कँडेलले सम्बन्धित पक्षले समेत नउठाएको विषय प्रधानमन्त्रीले संसदमा उठाउनु गम्भीर षड्यन्त्रको संकेत हुन सक्ने बताए ।
उनले भने, ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै देशको प्रधानमन्त्रीले सम्वन्धित पक्षले समेत नभनेको र अहिलेसम्म कतै नउठेको नेपालले भारतको भूमि मिचेको छ भन्ने संसदमा बोल्ने कुराले गम्भीर षड्यन्त्रको संकेत गर्दछ ।’
उनले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले पूर्वाग्रही भएर पक्राउ गरेको आरोप लगाए ।
