अर्जेन्टिना समूह विजेता बन्दै अन्तिम ३२ मा

काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप-२०२६ मा समूह ‘जे’को समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको छ । आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३-१ गोलले हराउँदै अर्जेन्टिना समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको हो ।

डाल्लास स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी, लौटारो मार्टिनेज र गिओभानी लो सेल्सोले समान एक/एक गोल गरे । जोर्डनको लागि मोउसा टामारीले एक गोल फर्काए । खेलको १९ औँ मिनेटमा लो सेल्सोले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

३१ औँ मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । ५५ औँ मिनेटमा टामारीले गोल गर्दै जोर्डनलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । यस्तै ८० औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मेस्सीले फ्रि-किकमा गोल गर्दै अर्जेन्टिनालाई ३-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै अर्जेन्टिना ३ खेलबाट ९ अंक जोड्दै समूह ‘जे’को विजेता बन्दा जोर्डन समान खेलबाट अंक विहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब अर्जेन्टिनाले अन्तिम ३२ मा केप भर्डेको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *