काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ ब्यान्ड ‘समकालीन’ ले आफ्नो पहिलो आधिकारिक गीत ‘लाहुर’ बजारमा ल्याएको छ । ‘लाहुर’ निराशा, संघर्ष र आशाको एउटा यस्तो मिश्रित भावनाबाट जन्मिएको सिर्जना हो, जसको पृष्ठभूमि निकै मर्माहत र प्रेरणादायी छ ।
संगीतप्रतिको प्रेमलाई अन्तिम एकपटक पूर्ण रूपमा अभिव्यक्त गर्ने उद्देश्यका साथ ब्यान्डका सदस्यहरूले यो गीत तयार पारेका थिए । यद्यपि, संयोगवश त्यही अन्तिम प्रयास नै ब्यान्डका लागि एउटा उत्साहजनक र नयाँ सुरुवात बन्न पुगेको छ ।
मार्स प्रालिको परिकल्पनामा तयार पारिएको म्यूजिक भिडियोसहित आफ्नो पहिलो सिर्जना ‘लाहुर’ स्रोतामाझ ल्याएसँगै, ‘समकालीन’ आगामी दिनहरूमा अझ धेरै उत्कृष्ट र मौलिक सिर्जनाहरू पस्कने तयारीमा जुटिसकेको छ ।
