क्यानाडाली उत्पादनमा अमेरिकी प्रतिबन्ध

वासिङ्टन । अमेरिका र क्यानाडाबिच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए।

प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब २० अर्ब अमेरिकी डलर बराबरको प्रतिशुल्क लगाएपछि अमेरिकाले पछिल्लो कदम चालेको हो।

राष्ट्रपति ट्रम्पले क्यानाडाली मदिरामाथिको प्रतिबन्धलाई अमेरिकी उत्पादनमाथि क्यानाडाले गरेको ‘भेदभावपूर्ण’ व्यवहारको जवाफ बताए । अगस्टमा वासिङ्टनमा व्यापारिक सङ्कट समाधानका लागि भएको वार्ता असफल भएपछि दुई देशबीचको तनाव थप बढेको हो।

क्यानाडाको करिब ६० प्रतिशत आयात अमेरिकाबाट हुने गरेको छ भने करिब ७० प्रतिशत निर्यात अमेरिकी बजारमा जाने गरेको छ । क्यानाडा सरकारले व्यवसायी तथा कामदारलाई सहयोग गर्न पाँच अर्ब ४० करोड अमेरिकी डलरको आर्थिक प्याकेज सार्वजनिक गरेको छ।

स्पिरिट्स क्यानाडाका अनुसार अमेरिका क्यानाडाली मदिराको प्रमुख निर्यात बजार हो र क्यानाडाको स्पिरिट उत्पादनको करिब ५० प्रतिशत अमेरिकी मागमा निर्भर छ। प्रतिबन्धका कारण क्यानाडाली उत्पादकलाई तत्काल अमेरिकी बजारमा गुमेको माग अन्यत्रबाट पूर्ति गर्न सीमित अवसर मात्र रहने सङ्गठनले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *