जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला सङ्क्रमण नियन्त्रणका लागि दुई उपचारात्मक औषधिको परीक्षण अर्को साता सुरु हुने जनाएको छ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले बुधबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा परीक्षणअन्तर्गत दुई एन्टिभाइरल औषधि एमबिपिसी–१३४ र रेमडेसिभिरको प्रभावकारिता मूल्याङ्कन गरिने जानकारी दिए ।
उनका अनुसार हालको प्रकोपको कारण बनेको इबोलाको बुन्डिबुग्यो प्रजातिबाट सङ्क्रमित बिरामीमा यी औषधिले मृत्युदर घटाउन सहयोग पुर्याउन सक्छन् वा सक्दैनन् भन्ने विषयमा अध्ययन गरिनेछ ।
डब्लुएचओले दुवै औषधिको प्रयोग छुट्टाछुट्टै तथा संयुक्त रूपमा गरेर पनि परीक्षण गरिने जनाएको छ । हाल कङ्गोमा इबोला सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य अधिकारीले विभिन्न रोकथाम तथा उपचारात्मक उपाय लागू गरिरहेका छन् ।
