ब्राजिल र मोरोक्को अन्तिम ३२ मा, स्कटल्याण्डको सम्भावना कायमै

काठमाडौं । विंगर भिनिसियस जुनियरले दुई गोल गरेपछि फिफा विश्वकप-२०२६ अन्तर्गत भएको समूहचरणको आफ्नो अन्तिम खेलमा ब्राजिल विजयी भएको छ । बिहीबार बिहान भएको खेलमा स्कटल्याण्डलाई ३-० गोलले पराजित गर्दै ब्राजिल समूह विजेताको रुपमा अन्तिम ३२ मा पुगेको हो ।

मियामी स्टेडियममा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियरले दुई र माथेउस कुन्हाले एक गोल गरे । खेलको सातौँ मिनेटमा रायनको पासमा भिनिसियसले गोल गर्दै ब्राजिललाई शुरुवाती अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा भिनिसियसले गरेको गोल भिएआरले रद्द गर्दा ब्राजिलले खेलमा अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० गोलको अग्रता दिलाए । ६० औँ मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई सहज जिततर्फ अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा ब्राजिल ३-० गोलले विजयी भएको हो ।

जितसँगै ब्राजिल ३ खेलबाट ७ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा रहेर नकआउट चरणमापुग्दा स्कटल्याण्ड समान खेलबाट तीन अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । स्कटल्याण्डलाई तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीको रुपमा नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेपनि अन्य टोलीको नतिजा पर्खिनुपर्नेछ ।

यस्तै आज बिहान भएको समूहको अर्को खेलमा मोरोक्कोले हाइटीलाई ४-२ गोलले हराएको हो । एटलान्टा स्टेडियममा भएको खेलमा मोरोक्कोलाई जित दिलाउन अचार्फ हकिमी, इस्माइल साइबारीम सौफिने रहिमी र गेसिमे यासिनले समान एक/एक गोल गरे । हाइटीको लागि विल्सन इसिडोरले एक गोल गर्दा एक गोल उपहार पाएको हो ।

जितसँगै मोरोक्को ३ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम ३२ मा पुग्दा सबै तीन खेलमा पराजित हाइटी प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *