चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने

ब्रसेल्स । युरोपेली सङ्घ (इयू) व्यापार प्रमुख मारोस सेफ्कोभिचले चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्टाओसँग ब्रसेल्समा जुन २९ मा वार्ता गर्ने कार्यक्रम तय भएको इयूले जनाएको छ। इयूले संवादमार्फत व्यापारिक तनाव सम्बोधन गर्न खोजिरहेको स्पष्ट पार्दै इयू व्यापार प्रवक्ताले सोमबार एएफपीसँग वार्ताको कार्यक्रमबारे बताएका हुन् ।

“म पुष्टि गर्न सक्छु कि आयुक्त सेफ्कोभिचले जुन २९ सोमबार ब्रसेल्समा मन्त्री वाङलाई स्वागत गर्दै बैठक गर्नेछन्,” इयू व्यापार प्रवक्ता ओलोफ गिलले भने ।

युरोपेली सङ्घ (इयू) ले पछिल्ला केही हप्ताहरूमा चीनसँगको २७ देशीय समूहको व्यापार असन्तुलन सम्बोधन गर्नुपर्ने विषयमा कडा धारणा अघि बढाएको छ ।

गत वर्ष इयूको व्यापार घाटा करिब ३६० अर्ब युरो (४१२ अर्ब अमेरिकी डलर) पुगेको थियो, अर्थात् इयूले गतबर्ष चीनबाट निकै बढी आयात गरेको तर निर्यात निकै कम गरेको थियो ।

गत हप्ता इयूका नेताहरूले ब्रसेल्सले दुई पक्षीय रणनीति अपनाउनुपर्ने सहमति जनाएका थिए । व्यापार नीति हेर्ने युरोपेली आयोगलाई उनीहरूले चीनसँग संवाद गर्नुका साथै चिनियाँ निर्यातको वृद्धिलाई सामना गर्न बलियो औजारहरू विकास गर्न निर्देशन दिएका छन्।

आयोगका मुख्य प्रवक्ता पाउला पिन्होले इयूले एउटा यस्तो संयन्त्रमा काम गरिरहेको बताए, जसको ‘उद्देश्य इयू सदस्य राष्ट्रहरूबीच एकताको भावना विकास गरी व्यापार असन्तुलन र अनुचित अभ्यासलाई प्रतिकार गर्नु’ हो ।

एक युरोपेली कूटनीतिज्ञले एएफपीसँग भने कि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजबाहेक सबै इयू नेताहरूले चीनसँगको व्यापार नीतिमा कडा अडान आवश्यक रहेको स्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *