लखनऊ । उत्तर प्रदेशको लखनऊको अलिगञ्ज क्षेत्रमा सोमबार कोचिङ इन्स्टिच्युटमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
चिकित्सकहरूका अनुसार घटनामा धेरैजसोको मृत्यु धुवाँले निस्सासिएर श्वासप्रश्वासमा समस्या आउँदा भएको हो ।
किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेन्डेन्ट प्रेम राज सिंहले एएनआईसँग कुराकानी गर्दै भने, “अस्पताल ल्याउँदा नै १५ जनाको मृत्यु भइसकेको थियो। शवहरूलाई पोस्टमोर्टमका लागि पठाइएको छ । थप सात देखि आठ जना अर्धचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।’
तीमध्ये दुई जनालाई सामान्य चोट लागेको छ । एक युवकको ढाडमा गम्भीर चोट लागेको देखिन्छ, हाम्रा चिकित्सकहरूले उनीहरूको उपचार गरिरहेका छन्। “धेरैजसोको मृत्यु धुवाँले निस्सासिएर भएको देखिन्छ,” सिंहले भने ।
आगलागी एक भवनमा भएको थियो जसमा लाइब्रेरी र कम्प्युटर ट्रेनिङ इन्स्टिच्युट थियो। एक प्रत्यक्षदर्शीका अनुसार आगो लाग्दा ठूलो आतङ्क मच्चिएको थियो र एक व्यक्तिले भवनबाट हाम फालेका थिए र उनलाई गम्भीर चोट लागेको छ ।
यसैबीच, फ्रान्सको समाचार संस्था एएफपीले आगलागीको समाचार छाप्दै भनेको छ, “भारतको लखनऊमा भएको आगलागीबाट १४ जना बालबालिकाको मृत्यु भएको र दर्जनौ अन्य घाइते वा विरामी परेका छन् ।”
उत्तर प्रदेशका उप–मुख्यमन्त्री ब्रजेश पाठकलाई उदृत गरी प्रकाशित उक्त समाचारमा मृत्यु हुने सबै विद्यार्थी थिए वा अरू कोही हुन् भन्ने नखुलेको उल्लेख छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट राहतस्वरूप आर्थिक सहायताको घोषणा गरेका छन् ।
प्रधानमन्त्री कार्यालयले एक्समा जारी एक विज्ञप्तिमा मृतकका नातेदारहरूलाई कोषबाट जनही दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने बताएको छ ।
प्रधानमन्त्रीको कार्यालयले जारी गरेको सन्देशमा भनिएको छ, “उत्तर प्रदेशको लखनऊमा भएको आगलागीबाट भएको दुर्घटनामा ज्यान गुमाउनेहरूको समाचारले मलाई स्तब्ध बनाएको छ । शोकाकुल परिवारप्रति मेरो समवेदना छ । घाइतेहरू चाँडै निको होऊन् । उद्धार कार्य भइरहेको छ र अधिकारीहरूले सबै सम्भव सहयोग गरिरहेका छन्।”
