अब पार्टीभित्र आत्मचिन्तन र मन्थन गर्नुपर्ने आवश्यकता छः माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् ।

शनिबार नेपाल बुद्धिजीवी संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले केही मानिसले सबै कुरा बिग्रिएको भन्दै निराशाको प्रचार गरिरहेको उल्लेख गरे । वास्तविक जटिलतालाई बेवास्ता गरेर केवल सकारात्मक पक्ष मात्रै हेर्ने प्रवृत्ति पनि रहेको उनको भनाइ थियो ।

उनले भने, ‘अहिले हामी जुन विश्वमा बाँचेका छौं, जुन अवस्थामा उभिएका छौं, यसका दुईवटा पाटा छन् । कसैकसैले निराशा देखिरहेका छन्, सबै बर्बाद भयो भन्ने मात्र ठानिरहेका छन् । र उनीहरूले निराशाको प्रचार गरिरहेका छन् । अर्कोतर्फ निराशालाई वास्तै नगरी एउटै पाटोलाई मात्रै हेरेर चल्ने पनि प्रवृत्ति हुनसक्छ ।’

उनले आफूहरू द्वन्द्ववादी दृष्टिकोणमा विश्वास गर्ने भएकाले जटिलता र सम्भावना, निराशा र आशा दुवैलाई सँगसँगै विश्लेषण गर्ने बताए । निराशा चिर्नका लागि त्यसका कारण पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले रोगको पहिचान नगरी उचित उपचार सम्भव नहुने उल्लेख गरे । वास्तविक अवस्था पहिला बुझ्न आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भने, ‘हामी द्वन्द्ववादी हौं । जटिलतालाई पनि हेर्छौं, सम्भावनालाई पनि हेर्छौं। निराशालाई पनि हेर्छौं, आशालाई पनि हेर्छौं । निराशा कसरी चिर्नुपर्छ, त्यसको उपाय पनि खोज्छौं । पहिला रोग पत्ता लगाउनुपर्छ । रोग पत्ता लगाएनौं भने उचित उपचार दिन सक्दैनौं । वास्तविकता पहिला पत्ता लगाउनुपर्छ।’

यसैगरी उनले कम्युनिस्टहरू निराश नभई आशावादी भएर अगाडि बढ्नुपर्ने बताए । उनले कम्युनिस्ट आन्दोलन नेपालमा विभिन्न उथलपुथल र राजनीतिक उतारचढावका बीचबाट अघि बढेको उल्लेख गरे । विभिन्न राजनीतिक शक्तिहरूसँग प्रतिस्पर्धा गर्दै प्रतिगामी शक्तिहरूलाई चुनौती दिँदै नयाँ इतिहास रचना गर्ने काममा कम्युनिस्टहरूको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

उनले अब पार्टीभित्र आत्मचिन्तन र मन्थन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘अहिले खासगरी २०७९ सालको निर्वाचनपश्चात निकै ठूलो परिवर्तन देखापरेको छ । अहिलेको ०८२ सालको चुनावले कल्पना नगरेको परिणाम प्राप्त गरेका छौं। यो हाम्रा लागि निकै ठूलो शिक्षा पनि हो । अब आफूभित्र आत्मचिन्तन र मन्थन गर्नुपर्ने आवश्यकता छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *