रुस–आसियान साझेदारी थप मजबुत

मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानका नेताहरूले कजानमा सम्पन्न शिखर सम्मेलनमार्फत आपसी रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भूराजनीतिक तनाव बढिरहेका बेला दुवै पक्षले राजनीतिक, आर्थिक तथा सुरक्षा सहकार्य विस्तार गर्दै बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा साझा धारणा प्रस्तुत गरेका हुन्।

रुसले आयोजना गरेको उक्त शिखर सम्मेलनमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड, पूर्वी टिमोर र भियतनामका प्रतिनिधिहरू सहभागी भएका थिए। बैठकमा रुस र आसियानबीच विगतदेखि विकसित हुँदै आएको रणनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने तथा भविष्यमा सहकार्यका नयाँ क्षेत्रहरू पहिचान गर्ने विषयमा सहमति भएको जनाइएको छ।

शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले रुस–आसियान साझेदारीले एसिया–प्रशान्त क्षेत्रमा स्थायित्व कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनका अनुसार वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा सन्तुलित सुरक्षा संरचना निर्माण गर्नुका साथै पारस्परिक लाभमा आधारित सहकार्यलाई अगाडि बढाउन यस्तो सम्बन्ध अझ आवश्यक बनेको छ।

बैठकका क्रममा विश्वव्यापी तथा क्षेत्रीय घटनाक्रमबारे विचार आदानप्रदान गरिएको थियो। साथै रुस–आसियान सम्बन्धको वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी वर्षहरूमा सहकार्य विस्तार गर्ने प्राथमिक क्षेत्रबारे पनि विस्तृत छलफल भएको थियो। व्यापार, लगानी, ऊर्जा, कृषि, डिजिटल रूपान्तरण, विज्ञान तथा प्रविधि, पर्यटन र जनस्तरका सम्बन्धलाई थप प्रवद्र्धन गर्ने विषयलाई विशेष महत्त्व दिइएको थियो।

पुटिनले हालका वर्षहरूमा रुस र आसियानबीच नयाँ सुरक्षा चुनौती तथा विभिन्न अन्तर्राष्ट्रिय खतरासम्बन्धी सहकार्य पनि बढ्दै गएको उल्लेख गरे। उनले व्यावहारिक सहकार्यका क्षेत्रहरू विस्तार हुँदै गएको र यसले दुवै पक्षलाई दीर्घकालीन लाभ पु¥याउने विश्वास व्यक्त गरे।

शिखर सम्मेलनको अन्त्यमा जारी संयुक्त घोषणापत्रमा सहभागी राष्ट्रहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तप्रति प्रतिबद्धता दोहोर्‍याएका छन्। घोषणापत्रमा अन्तर्राष्ट्रिय कानूनको सम्मान, सबै राष्ट्रको सार्वभौम समानता, आपसी लाभमा आधारित सहकार्य तथा न्यायपूर्ण बहुध्रुवीय विश्व व्यवस्थाको निर्माणप्रति साझा समर्थन व्यक्त गरिएको छ।

घोषणापत्रमा कजान शिखर सम्मेलनलाई रुस–आसियान सम्बन्धको महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा चित्रित गरिएको छ। सहभागी राष्ट्रहरूले आगामी दिनमा पनि उच्चस्तरीय राजनीतिक सम्पर्क कायम राख्दै रणनीतिक साझेदारीलाई थप अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

शिखर सम्मेलनको अवसरमा पुटिनले आसियान सदस्य राष्ट्रका नेताहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता पनि गरे। सम्मेलनको सह–अध्यक्षता फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोस जुनियरले गरेका थिए। फिलिपिन्सले हाल आसियानको घुमाउरो अध्यक्षता सम्हालिरहेको छ।

आसियानभित्रका सदस्य राष्ट्रहरूको कूटनीतिक र रणनीतिक प्राथमिकता भने एकरूप छैन। केही सदस्य राष्ट्रहरू अमेरिकासँग निकट सम्बन्धमा छन् भने अन्य देशहरूको चीन र रुससँग व्यापारिक तथा सुरक्षा सहकार्य गहिरो रहेको छ। यही विविधताबीच पनि संगठनले साझा क्षेत्रीय हितका विषयमा सहकार्यलाई निरन्तरता दिँदै आएको छ।

ऊर्जा सुरक्षाको विषय पनि सम्मेलनको महत्त्वपूर्ण एजेन्डामध्ये एक बनेको थियो। फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड र भियतनामलगायतका केही आसियान सदस्य राष्ट्रहरूले रूसी कच्चा तेल आयात गरिसकेका छन् वा त्यसमा रुचि देखाएका छन्।

इरानसँग सम्बन्धित युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि वैकल्पिक ऊर्जा आपूर्तिको खोजीमा रहेका यी देशहरूका लागि रुस थप महत्त्वपूर्ण साझेदारका रूपमा उभिएको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *