डेबिडको ह्याट्रिक, कतारको पोस्टमा क्यानडाको आधा दर्जन गोल

काठमाडौं । फरवार्ड जोनाथन डेभिडले जारी फिफा विश्वकपको पहिलो ह्याट्रिक पुरा गरेपछि क्यानडाले फराकिलो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ९ खेलाडीमा समेटिएको कतारलाई ६-० गोलले हराउँदै क्यानडाले विश्वकपमा पहिलो जित निकालेको हो ।

बिसी प्लेस भान्कोउभेरमा भएको खेलमा क्यानडालाई जित दिलाउन डेभिडले ह्याट्रिक पूरा गर्दा सेल लारिन र नाथन सालिबाले समान एक/एक गोल गरे । क्यानडाले एक गोल उपहार पाएको हो । खेलको १६ औँ मिनेटमा लारिनले गोल गर्दै क्यानडालाई शुरुवाती अग्रता दिलाएका थिए । २९ औँ मिनेटमा डेभिडले गोल गर्दै क्यानडाको अग्रता दोब्बर बनाए ।

३३ औँ मिनेटमा होमाम इलामिन रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि कतार १० खेलाडीमा समेटिएको थियो । पेनाल्टीभित्र फावल गरेको भनेर रेफ्रीले पहेलो कार्ड दिएपनि भीएआरमा हेर्दै डी-बक्सको छेउमा फावल गरेको देखेपछि रेफ्रीले सिधैं रातो कार्ड दिएका हुन् । यस्तै पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै क्यानडालाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका हुन् ।

दोस्रो हाफको छैटौँ मिनेटमा कतार फेरी ९ खेलाडीमा समेटियो । मिडफिल्डर असिम माडिबोले खराब फावल गरेपछि रेफ्रीले भिएआरको मद्दतलिँदै उनलाई सिधैं रातो कार्ड दिएका हुन् । ६४ औँ मिनेटमा सालिबाले फ्रि-किकबाट सिधैं गोल गर्दै क्यानडाको अग्रता ४-० गोलमा पुर्याए । ७५ औँ मिनेटमा मोहमद अल मन्नानीले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि क्यानडाले ५-० गोलको अग्रता लिएको थियो ।

यस्तै दोस्रो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर क्यानडालाई ६-० गोलको फराकिलो जित दिलाएका हुन् । जितसँगै क्यानडा २ खेलबाट ४ अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट एक अंक जोडेको कतार पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *