सुलभ अग्रवाल र दीपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुलभ अग्रवाल र दीपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दा पुर्पक्षको लागि यी प्रतिवादीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम (१) बमोजिम थुनूवा पूर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाईदिनू । प्रतिवादी सुलभ अग्रवालको स्वास्थ्य अवस्था समेतलाई मध्यनजर गरी आवश्यकता अनुसार निजको स्वास्थ्योपचारको लागि उचित व्यवस्था गर्नू भनी सम्बन्धित कारागार कार्यालयलाई लेखी पठाउनू । साथै, देहायको कार्य सम्पन्न गरी मुद्दाको प्रक्रिया अगाडि बढाउनू । आरोपपत्रसाथ पेश गरिएको गाडी नम्बर ०१–०३३ च १ को गाडी प्रचलित कानून बमोजिम व्यवस्थापनको लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाईदिनू ।दशी स्वरुप पेश भएका मोबाइल समेतका सामानहरू यस अदालतको जिन्सीमा आम्दानी बाँध्नू । वरामद भई आएका विदेशी विनिमय अमेरिकी डलर र थाई भाट नेपाल राष्ट्र बैंकमा पठाईदिनू ।’

गैरकानुनी रुपमा विभिन्न कसुर गरेको आरोपमा छुट्टाछुट्टै र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि छुट्टै अभियोग दायर भएको थियो। सम्पत्ति शुद्धीकरणको कसुरमा भट्टलाई २६ अर्व ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गरिएको छ। अग्रवाललाई २५ अर्व ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *