काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश लैजान लागेको करिब २८ लाख ९३ हजार रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार असार २ गते अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा जाँचका क्रममा एक चिनियाँ नागरिक र एक नेपाली नागरिकलाई विदेशी मुद्रासहित नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत चीनको कुनमिङ जान लागेका ५१ वर्षीय चिनियाँ नागरिक मो योलोङ र कतार एयरवेजको उडानमार्फत कतारको दोहा जान लागेका सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ४० वर्षीय बेचन मियाँ रहेका छन् ।
प्रहरीकाअनुसार मो योलोङलाई दिउँसो करिब २ बजे र बेचन मियाँलाई करिब २ः०५ बजे जाँच गर्ने क्रममा शरीर तथा सामानबाट विदेशी मुद्रा बरामद गरिएको थियो। बरामद मुद्राको नेपाली मूल्य करिब २८ लाख ९३ हजार रुपैयाँ रहेको जनाइएको छ ।
बरामद विदेशी मुद्रा बाह्य मुलुकतर्फ अवैध रूपमा लैजान खोजिएको आशंकामा दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
