काठमाडौं । युवा फरवार्ड इर्लिंङ ब्राउट हालान्डले दुई गोल गरेपछि नर्वेले फिफा विश्वकप २०२६ मा फराकिलो जित निकालेको छ । बुधबार बिहान भएको खेलमा इराकलाई ४-१ गोलले हराउँदै नर्वेले विश्वकपमा शानदार शुरुवात गरेको हो ।
बोस्टन स्टेडियममा भएको खेलमा नर्वेको जितमा हालान्डले दुई गोल गर्दा लिओ ओस्टिगार्डले एक गोल थपे । नर्वेले एक गोल उपहार पाएको हो । इराकको लागि यमन हुस्सेइनले एक गोल फर्काए । विश्वकपमा डेब्यु खेल खेलेका हालान्डले २९ औँ मिनेटमा गोल गर्दै नर्वेलाई शुरुवाती अग्रता दिलाएका थिए ।
१० मिनेटपछि हुस्सेइनले गोल गर्दै इराकलाई १-१ गोलको बराबरीमा ल्याए । तीन मिनेटपछि हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पहिलो हाफमा २-१ गोलको अग्रता दिलाएका थिए । ७६ औँ मिनेटमा ओडेगार्डको कर्नर क्रसमा ओस्टिगार्डले हेडर गोल गर्दै नर्वेलाई ३-१ गोलको अग्रता दिलाए ।
यस्तै दोस्रो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा हुस्सेइनले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि नर्वेले ४-१ गोलको फराकिलो जित निकालेको हो । जितसँगै समूह ‘आई’मा रहेको नर्वेले तीन अंक जोडेको छ ।
