पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन ।  पाल्पामा  हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी) सङ्क्रमित छन्। जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयकुष्ट रोग अधिकृत विश्वनाथ न्यौपानेका अनुसार जिल्लामा हालसम्म रहेका एचआइभी सङ्क्रमितमध्ये ३५४ जनाले नियमित औषधि सेवन गरिरहेका छन्।

विभिन्न कारणले एचआइभी सङ्क्रमण भएकाहरूले पाल्पा अस्पताल र रामपुर अस्पतालका ‘एआरटी सेन्टर’बाट नियमित औषधि सेवन गरिरहेका हुन्। औषधि सेवन गर्नेमध्ये १२ जना बालबालिका रहेका न्यौपानेले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा पाँच जना एचआइभी सङ्क्रमितको मृत्यु भएको थियो।

जिल्लामा सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने भन्दै क्षयकुष्ट रोग अधिकृत न्यौपानेका अनुसार अपमान, भेद्भाव र लाञ्छनाका कारण समाजमा खुल्न सकिरहेका छैनन्। समाज हुनसक्ने तिरस्कारको डरले अझै पनि केही सङ्क्रमित खुल्न नसकेका उनको भनाइ छ। नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशिनेहरू एचआइभीको उच्च जोखिममा रहेका उनले जानकारी दिए।

यसैबीच, स्वास्थ्य कार्यालय पाल्पाले सचेतना फैलाउन जनप्रतिनिधि, पत्रकार, प्रहरी र एचआइभी सङ्क्रमित तथा जोखिम समूहबीच अभिमुखीकरण कार्यक्रम गरेको छ। कार्यक्रममा सहभागीहरूले एचआइभी सङ्क्रमितले नियमित रूपमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्नेमा जोड दिएका छन्।

समयमा, नियमित औषधि सेवन गर्दा भाइरसको प्रभाव नियन्त्रणमा रहने, रोग प्रतिरोधात्मक क्षमता सुदृढ हुने तथा स्वस्थ जीवनयापन गर्न सहज हुने सहभागीहरूले बताएका हुन्। सङ्क्रमित व्यक्तिले एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) नियमित रूपमा सेवन गरेमा शरीरमा भाइरसको मात्रा न्यून रहने क्षयकुष्ट रोग अधिकृत न्यौपानेले बताए।

सरोकार भएका निकायका प्रतिनिधिले औषधि सेवनमा लापरबाही गर्दा उपचारको प्रभावकारिता घट्न सक्ने र स्वास्थ्य अवस्था जटिल बन्न सक्नेतर्फ सचेत गराएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले सङ्क्रमितलाई नियमित स्वास्थ्य परीक्षण गराउन, सन्तुलित आहार लिन र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए।

नेपाल परिवार नियोजन सङ्घ पाल्पाका प्रबन्धक शोवाकान्त न्यौपानेले एचआइभी लागेका व्यक्तिले नकारात्मक सोच राख्न नहुने भन्दै आधारभूत सेवा, शिक्षा, स्वास्थ्य र रोजगारबाट वञ्चित गराउन नहुनेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *