शिक्षा र स्वास्थ्य समता शुल्कका नाममा लगाइएको ३ प्रतिशत करमा पुनर्विचार गर्न खरेलको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेलले प्रधानमन्त्री बालेन साह अर्जुन र सभापति रवि लामिछाने श्रीकृष्णको भूमिकामा रहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद खरेलले यस्तो बताएका हुन् । उनले भने, ‘महाभारतको रणभूमिमा तीन पात्र अर्जुन, श्रीकृष्ण र विदुरको चर्चा हुन्छ । प्रधानमन्त्री बालेन साह अर्जुनको भूमिकामा हुनुहुन्छ । त्यो लक्ष्यमा केन्द्रित हुनुहुन्छ । युद्धभूमिमा रहेको लडाकु वा कार्यान्वयनकर्ताको रूपमा उहाँ हुनुहुन्छ । श्रीकृष्णको भूमिकामा हाम्रा पार्टीका श्रद्धेय सभापति हुनुहुन्छ ।’

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विदुरको भूमिकामा रहेको बताए । उनले अर्थमन्त्रीलाई एउटा सत्य बोल्ने व्यक्ति, अर्थशासन, नैतिकता भएको व्यक्तिकारुपमा चित्रण गरे ।

उनले भने, ‘विदुरको रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एउटा सत्य बोल्ने व्यक्ति, अर्थशासन, नैतिकता र दीर्घकालीन हितका विषयमा राज्य सञ्चालान गर्ने व्यक्ति हुनुहुन्छ ।’

उनले १० लाखसम्म आयआर्जन गर्ने साना कम्पनीहरूको हकमा भने २५ प्रतिशत कर्पोरेट कर र थप ५ प्रतिशत लाभांश कर लगाउने नीतिको सच्याउनुपर्ने बताए । उनले साना उद्योगी, व्यवसायी र कर्पोरेट कल्चरलाई प्रोत्साहन गर्न आगामी दिनमा यो कर नीतिमा सुधार गर्नुपर्ने बताए ।

त्यस्तै उनले शिक्षा र स्वास्थ्य समता शुल्कका नाममा लगाइएको ३ प्रतिशत करले ७० लाख अभिभावक मारमा परेका बताए । निजी विद्यालयलाई कानुन बमोजिम छात्रवृत्ति दिन लगाउने र कर्पोरेट कर पनि लिने व्यवस्था भइरहेको बेला, यो नयाँ करले अभिभावकलाई थप आर्थिक भार परेको उनको भनाइ थियो । उनले यो ३ प्रतिशत करबाट उठेको रकम सोझै सङ्घीय सञ्चित कोषमा नराखी विद्यालयको पूर्वाधार विकासका लागि छुट्टै कोष खडा गर्न सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *