काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले सुनसरीसहित तराई क्षेत्रमा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद भाटले भाटले धार्मिक ग्रन्थहरूले सबै मानवबीच समानता र सद्भावको सन्देश दिएको उल्लेख गर्दै कुनै पनि धर्मले अर्को धर्मका मानिसप्रति घृणा गर्न नसिकाउने बताए ।
उनले हिन्दू धर्मको ग्रन्थ गीतामा ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः’ को भावना रहेको तथा कुरानले पनि सम्पूर्ण मानव समुदायका लागि समान सन्देश दिएको बताए ।
उनले नेपालका मुस्लिम समुदायले राष्ट्रिय एकता र अखण्डतामा कुनै असर नपुर्याएको दाबी गर्दै सबै नेपाली मिलेर यस्ता घटनाको समाधान खोज्नुपर्ने बताए ।
सांसद भाटले हिन्दू राष्ट्रको विषयमा पनि धारणा राख्दै राप्रपाले माग गरेको हिन्दू राष्ट्रको अवधारणा कुनै समुदायविरुद्ध नभएको स्पष्ट पारे ।
उनले भने, ‘म मुश्लिमको छोरो भएर हिन्दू राष्ट्रकै पार्टीमा छु। राप्रपाले मागेको हिन्दू राष्ट्र काटमार गर्ने होइन, बरु सबै धर्मबीच सद्भाव र सम्मान कायम गर्ने पहिचानका लागि हो।’
उनले विगतमा नेपाल हिन्दू राष्ट्र हुँदा पनि नेपाली मुस्लिमहरूले नेपाली टोपी र राष्ट्रिय झण्डासहित गर्वका साथ हज यात्रामा जाने गरेको स्मरण गरे।
उनले नेपालमा हिन्दू, मुस्लिम, बौद्ध, इसाईलगायत सबै समुदाय मिलेर बसेको उल्लेख गर्दै धार्मिक द्वन्द्वले देशलाई कमजोर बनाउने बताए । यस्ता घटनाको पुनरावृत्ति रोक्न गाउँ–गाउँसम्म सामाजिक सद्भावको शिक्षा फैलाउनुपर्नेमा उनले जोड दिए ।
