हङकङ । हङकङमा गत वर्ष भएको दशककै सबैभन्दा घातक आगलागी घटनाको अनुसन्धानपछि अधिकारीहरूले सात व्यक्ति र दुई कम्पनीविरुद्ध हत्या, ठगीको षड्यन्त्र, सम्पत्ति शुद्धीकरण, कर छली तथा न्याय प्रक्रियामा अवरोध पुर्याउने प्रयासलगायत गम्भीर अभियोग दर्ता गरेका छन् ।
नोभेम्बर २६, २०२५ मा ताइ पो जिल्लास्थित वाङ फुक कोर्ट आवासीय परिसरमा भएको भीषण आगलागीमा १६८ जनाको मृत्यु भएको थियो । सातवटा अपार्टमेन्ट भवनमा फैलिएको आगोले हजारौँ बासिन्दा प्रभावित भएका थिए । घटनापछि पीडित परिवार र स्थानीय समुदायले लामो समयदेखि दुर्घटनाको कारण र जिम्मेवार पक्षबारे स्पष्ट जवाफको माग गर्दै आएका थिए ।
जारी विज्ञप्तिमा प्रहरी र भ्रष्टाचारविरुद्धको स्वतन्त्र आयोगले संयुक्त अनुसन्धानका आधारमा नौ प्रतिवादीविरुद्ध कुल २५ वटा अभियोग लगाइएको जनाएको छ । आरोपहरूमा हत्या, ठगीको षड्यन्त्र, सम्पत्ति शुद्धीकरण, कर छली तथा न्याय प्रक्रियालाई प्रभावित पार्ने प्रयाससमेत समावेश छन् ।
अनुसन्धानअनुसार आरोपित सात जनाले वाङ फुक कोर्टमा सञ्चालन गरिएको प्रमुख नवीकरण परियोजनामा विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए । अभियोग लागेका दुई कम्पनीमध्ये विल पावर आर्किटेक्ट्स कम्पनी परियोजनाको परामर्शदाता संस्था हो भने प्रेस्टिज कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी मुख्य ठेकेदारका रूपमा संलग्न रहेको थियो ।
प्रतिवादीहरू वोङ ह्याप–यिन, हाउ वा–किन, हो किन–यिप, एन्ग येउक, हङ क्वोक–वाई, चुङ सो–फ्यान र लिन मिनलाई बुधबार अदालतमा उपस्थित गराइएको थियो । अधिकारीहरूका अनुसार उनीहरूमध्ये केही दुवै कम्पनीका निर्देशक तथा परियोजनासँग सम्बन्धित दर्ता निरीक्षक रहेका थिए ।
अदालतमा उपस्थित प्रतिवादीहरूले आफूमाथि लगाइएका आरोपहरू बुझेको बताएका थिए । अधिकांश प्रतिवादी सुनुवाइका क्रममा शान्त देखिएका थिए ।
यसअघि मार्च महिनामा प्रहरीले आगलागीसँग सम्बन्धित मानवहत्या र ठगीका अभियोगमा ३८ जनालाई पक्राउ गरेको जनाएको थियो । तीमध्ये नौ जनाविरुद्ध औपचारिक अभियोग दर्ता गरिएको छ । त्यही समयमा भ्रष्टाचारविरुद्धको स्वतन्त्र आयोगले घुसखोरी र ठगीको षड्यन्त्रको आशङ्कामा थप २३ जनालाई नियन्त्रणमा लिएको थियो ।
आगलागीको वास्तविक कारणबारे अनुसन्धान अझै जारी छ । घटनाको छानबिन गरिरहेको स्वतन्त्र समितिका तर्फबाट बहस गर्ने कानून व्यवसायी भिक्टर डावेसले यसअघि मानवीय त्रुटिका कारण आगलागी भएको दिन अधिकांश अग्नि सुरक्षा प्रणालीले काम नगरेको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेका थिए ।
