बीबीसी । अमेरिकाले इरानमाथि लगातार दोस्रो दिन हवाई आक्रमण गरेपछि इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि प्रतिशोधात्मक हमला गरेको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि सम्झौता गर्न ढिलाइ गरेको आरोप लगाएपछि बिहीबार ‘आत्मरक्षाका लागि’ भन्दै नयाँ आक्रमण गरिएको हो ।
इरानले त्यसको जवाफमा बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको जनाएको छ । यी दुवै अड्डामाथि इरानले अघिल्लो दिन पनि आक्रमण गरेको थियो ।
पछिल्ला केही दिनयता अमेरिका र इरानबीच जारी आक्रमण–प्रत्याक्रमणले अप्रिलमा भएको युद्धविरामलाई थप संकटमा पारेको छ । अमेरिकाको पछिल्लो आक्रमणपछि होर्मुज जलडमरूमध्य नजिकका इरानी सहरहरूमा विस्फोटको आवाज सुनिएको बताइएको छ । अमेरिकी सेनाले मंगलबार उक्त क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली, राडार तथा अन्य सैन्य संरचनामाथि प्रहार गरेको थियो ।
यसैबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले होर्मुज जलडमरूमध्यमा रहेका जहाजहरूलाई पनि निशाना बनाएको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले जलडमरूमध्य सबै प्रकारका जहाजका लागि बन्द गरिएको दाबी गरे पनि सेन्टकमले व्यावसायिक जहाजहरूको आवतजावत जारी रहेको जनाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार होर्मुज जलडमरूमध्यबाट गुज्रिरहेका दुई तेल ट्यांकर इरानी नौसेनाको आक्रमणमा परेका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
घटनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । विश्वव्यापी मापदण्ड मानिने ब्रेन्ट क्रुड तेलको मूल्य एसियाली कारोबारका क्रममा प्रतिव्यारेल ९५ अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
आक्रमणअघि ट्रम्पले इरानलाई पुनः कडा प्रहार गर्ने चेतावनी दिएका थिए । ट्रम्पले इरानी नेतृत्वले सम्झौताका लागि अत्यधिक ढिलाइ गरेको आरोप लगाएपछि इरानी राष्ट्रपतिले इरान कुनै पनि दबाब वा धम्कीसमक्ष नझुक्ने बताएका छन् । अप्रिलमा दुई देशबीच दुई साताका लागि युद्धविराम सम्झौता भएको भए पनि त्यसयता छिटपुट सैन्य झडप जारी रहँदा क्षेत्रीय तनाव पुनः चुलिएको छ ।
