फिफा विश्वकप आजबाट शुरु हुँदै, उद्धाटन खेलमा सह-आयोजक मेक्सिकोलाई दक्षिण अफ्रिकाको चुनौती

काठमाडौं । चार वर्षको लामो पर्खाइपछि फिफा विश्वकपको २३ औँ संस्करण आजबाट शुरु हुँदैछ । आज हुने उद्धाटन खेलमा सह-आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमने-सामने हुँदैछन् । मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरू हुनेछ ।

विश्वकप पहिलोपटक तीन राष्ट्रमा आयोजना हुन लागेको हो । पहिलो पटक ४८ टोलीलाई समेटिएको प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ । यसअघि ३२ टोलीले मात्र विश्वकपमा सहभागिता जनाउँदै आएका थिए ।

समूह ‘ए’मा रहेका मेक्सिको र दक्षिण अफ्रिका आजको खेलमा जित निकाल्दै प्रतियोगिताको शुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यसअघि दुई टोली सन् २०१० को विश्वकपको उद्धाटन खेलमा पनि भिडेका थिए । उक्त खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

मेक्सिको सन् १९९४ पछि विश्वकपको पहिलो खेलमा पराजित भएको छैन । विश्वकपमा मेक्सिकोको १८ औँ सहभागिता हो । मेक्सिको विश्वकपको उपाधि नजिती विश्वकपमा सर्वाधिक ६० खेल खेल्ने टोली हो । मेक्सिकोको हालसम्मको उत्कृष्ट प्रदर्शन क्वाटरफाइनल पुग्नु हो । जुन सन् १९७० र १९८६ मा घरेलु मैदानमै भएको विश्वकपमा अन्तिम आठमा पुगेको थियो ।

यता दक्षिण अफ्रिकाले चौथोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो । हालसम्म विश्वकपमा ९ खेल खेलेको दक्षिण अफ्रिकाले दुई खेल आफ्नो पक्षमा पार्न सकेको छ । दक्षिण अफ्रिकाले विश्वकपमा खेलेको खेल कुनैपनि गोलरहित बराबरीमा सकिएको छैन ।

दक्षिण अफ्रिका सन् २०१० पछि पहिलोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो भने मेक्सिकोले सन् २०१४ र २०१८ मा अन्तिम १६ सम्मको यात्रा तय गर्दा २०२२ मा समूहचरणबाट बाहिरिएको थियो ।

फिफा विश्वकप २०२६ को समूह

समूह ‘ए’ :- मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक गणतन्त्र

समूह ‘बी’ :- क्यानडा, बोस्निया तथा हर्जेगोभिना, कतार, स्विट्जरल्यान्ड

समूह ‘सी’ :-  ब्राजिल, मोरक्को, स्कटल्यान्ड, हाइटी

समूह ‘डी’ :-  संयुक्त राज्य अमेरिका (अमेरिका), पाराग्वे, अष्ट्रेलिया, टर्की

समूह ‘ई’ :-  जर्मनी, कुरासाओ, इभरी कोस्ट, इक्वेडर

समूह ‘एफ’ :- नेदरल्यान्ड्स, जापान, स्विडेन, ट्युनिसिया

समूह ‘जी’ :-  बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड

समूह ‘एच’ :-  स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे

समूह ‘आई’ :-  फ्रान्स, सेनेगल, इराक, नर्वे

समूह ‘जे’ :-  अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन

समूह ‘के’ :- पोर्चुगल, डिआर कंगो, उज्बेकिस्तान, कोलम्बिया

समूह ‘एल’ :- इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा

शुक्रबार बिहान हुने खेल

  • दक्षिण अफ्रिका विरुद्ध चेक गणतन्त्र ( बिहान ७:४५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *