बीबीसी मास्टर सेफ उपविजेता साहलाई पर्यटन बोर्डको सम्मान

काठमाडौं । नेपाली खानालाई विश्वभर प्रवद्र्धन गरी देशको गौरव बढाएको भन्दै नेपाल पर्यटन बोर्डले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् युके’ को उपविजेता नेपाली सेफ सन्तोष साहलाई सम्मान गरेको छ । मंगलबार आयोजित कार्यक्रममा साहलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष यादवप्रसाद कोइराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरे ।

नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेलेका छन् । भारत हुँदै बेलायतमा सेफ पेसामा जमेका साहले नेपाली खानालाई विश्वभर प्रवद्र्धन गर्ने योजना सुनाए ।

साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दैछन् । चर्चित पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताउनुभयो । खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उनले जानकारी दिए ।

नेपाललाई कृषि प्रधान मुलुक भनेझैँ ‘टुरिज्म’ प्रधान मुलुकको रुपमा स्थापित गराउन आफ्नो क्षेत्रबाट सक्दो भूमिका खेल्ने साहले बताए । “हामीले आफ्नै खानालाई हेलचक्र्याइ गर्यौं, खानाको महत्व बुझ्न र बुझाउन सके नेपालको समृद्धिमा योगदान पुग्नेछ ।’’ नेपालको सिरहाको करजन्हामा जन्मिएका साह हाल बेलायतमा बस्छन् ।

सो अवसरमा सचिव कोइरालाले मानिसको कर्मले व्यक्तिलाई महान बनाउने र त्यसको उदाहरण सेफ साह आम नेपालीको प्रेरणाको स्रोत भएको उल्लेख गरे । उनले भने, “मान्छेको कर्मले महान बनाउँछ, हरेक कामको महत्व हुन्छ, बाँच्नका लागि मात्र हैन मातृभूमिप्रतिको स्नेहलाई रोक्न सक्दैन, मातृभूमि कति महत्व हुन्छ भन्ने कुरा सेफ साहको भावना र लगावले चरितार्थ गर्छ ।”

सचिव कोइरालाले नेपाली खानाको विश्वव्यापीकरणका लागि विशेष ब्राण्ड बनाएर प्रवद्र्धनलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाललाई ‘ग्यास्ट्रोनोमी टुरिज्म डेस्टिनेशन’ को रुपमा विकास गर्न सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने खाँचो औँलयाए ।

होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले नेपाली खानालाई विश्वभर प्रवद्र्धन गरी नेपालको शान र पहिचानलाई बढाएकामा सेफ साहलाई धन्यवाद ज्ञापन गरिन् । पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले पर्यटन बोर्डले नेपालमा भएका करीब २०० खानाको छनोटबाट केही खानालाई ‘सिग्नेचर डिस’का रुपमा अगाडि ल्याउने काम गरेको बताउँदै सन्तोष साहको कामले यस अभियानलाई थप बल पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *