नेपाललाई एसियन गेम्स छनोटको उपाधि

काठमाडौँ । नेपालले सिङ्गापुरमा भएको एसियन गेम्स पुरुष छनोटको उपाधि जितेको छ। सोमबार दिउँसो भएको फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिको आधारमा १९ रनले पराजित गरेको हो ।

जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा दुई विकेटको क्षतिमा १ सय १४ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि खेल शुरु हुन नसक्ने अवस्था भएपछि डकवर्थ लुइस पद्दतिको आधारमा नेपाल विजयी भएको हो । नेपालको लागि कुशल भुर्तेलले अर्धसतक बनाए । उनले ४० बलमा ८ चौका र तीन छक्का प्रहार गरे । यस्तै रोहित कुमार पौडेलले २४ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३५ रन बनाउँदा दीपेन्द्र सिंह एरीले ९ रन बनाए ।

हङकङको लागि आयुष शुक्ला र इशान खानले समान एक/एक विकेट लिए ।

यसअघि सिंगापुरस्थित सिंगा ओभलमा जारी फाइनल टस हारेर पहिले ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो । हङकङको लागि अन्शुमन रथ र शहिद वासिफले अर्धसतक बनाए । अन्शुमनले ४५ बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८० रन बनाए । यस्तै शहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५५ रन बनाउँदा शिव मथुरले २६ रन बनाए ।

नेपालको लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर चार विकेट लिंदा करण केसीले दुई र सन्दीप लामिछानेले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *