प्रज्जवल थापा । नेपाली राष्ट्रिय महिला फूटबल टोलीका चार खेलाडीले पाकिस्तानको महिला फूटबल लिग खेल्ने भएका छन् । पाकिस्तान फूटबल फेरेडेसनले आयोजना गर्ने लिगमा नेपालका चारै खेलाडीले मासा युनाइटेडबाट खेल्ने पक्का भएको हो ।
भखरै सम्म्पन राष्ट्रिय महिला लिगमा एपिएफलाई उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेलेका गोलरक्षक एन्जिला सुब्बा, डिफेन्डर गिता राना, मिडफिल्डर शरु लिम्बू र फर्वार्ड अनिता केसीले पाकिस्तानको ‘राष्ट्रिय महिला वुमेन्स फूटबल च्याम्पियनसिप’ खेल्ने भएका हुन् । शरु लिम्बू लिगकै उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
लिगको लागि चारै खेलाडी बिहिबार बिहान ११ बजे पाकिस्तान तर्फ लाग्ने कार्यक्रम रहेको छ । यहि मार्च ८ देखि अप्रिल ३ सम्म चल्ने लिगमा २० टोलीको सहभागिता रहनेछ । नेपाली खेलाडी सम्मीलित मासा युनाइटेड समूह ‘बी’ मा रहेको छ ।
विदेशी लिग खेल्न पाउँदा आफू खुशी रहेको फर्वार्ड अनिता केसीले नेपाल समाजलाई बताइन् । “पहिलो पटक विदेशी लिग खेल्न पाउँदा निकै खुशी छु।” उनले भनिन्, “आफुलाई प्रमाणित गर्ने यो राम्रो अवसरपनि हो । त्यसैले पाएको अवसरलाई सदुपयोग गर्दै टोलीलाई जित दिलाउन सबैले सक्दो प्रयास गर्नेछौ ।” अनिताले थपिन्, “विदेशी लिगको अनुभवले एपीएफसँगै राष्ट्रिय टोलीलाई पनि फाइदा पुग्नेछ ।”
यसअघि स्टार स्ट्राइकर सावित्रा भण्डारी र अनिता बस्नेतले भारतिय लिग खेलेका थिए । दुई वर्षअघि सावित्रा र अनिताले सेथुलाई आइ लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भुमिका खेलेका थिए । गत वर्षपनि सावित्राले गोकुलमले आइ लिगको उपाधी दिलाएकी थिइन् । तस्बिर:- हाम्रो खेलकुद, एन्फा
