नेपालबाट भएका दुई महत्वपूर्ण भ्रमणमा भारतसँग उठाउनैपर्ने कुरा उठाइएनः पूर्वराजदूत आचार्य

काठमाडौँ । पूर्वराजदूत निलाम्बर आचार्यले हालै नेपालबाट भारतमा भएका दुई महत्वपूर्ण भ्रमण सकारात्मक संकेत भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिाने र परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमण हुनु सकारात्मक भएको उनले बताएका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘हालै नेपालबाट दुई महत्वपूर्ण भ्रमण भारतमा भएका छन् । भ्रमण हुनु राम्रो हो । स्वागत सत्कार पनि सकारात्मक छ।’
पूर्वराजदूत आचार्यले महत्वपूर्ण भ्रमण भएपनि उठाउनुपर्ने कुरा भने उनीहरुले उठाउन नसकेको बताएका छन् । उनले भनेका छन्, ‘तर नेपालले उठाउदै गरेका र उठाउनै पर्ने कुरा उठाइएनन् । जनमानस चिन्तित रहेका र सांसद पनि उद्वेलित रहेका विषयमा समेत बोल्न हच्केको देखियो । मित्रहरूबीच यस्तो हचक राम्रो होइन।’

खासमा नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद छ । भारत र चीनले नेपालको अतिक्रिमित भूमि लिपुलेक हुँदै मानसरोबर यात्राका लागि सहमति गरेका छन् । तर यी विषयमा बाहिर उनीहरुले कुरा गरेपनि भारतीय पक्षसँगको भेटमा खुलेर राख्न सकेनन् । रास्वपा सभापति लामिछाने र परराष्ट्रमन्त्री खनाल दुबैले भारतीय पक्षसँगको भेटपछि सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने मात्र भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *