२०४८ सालपछि पहिलोपटक व्यापक दायराका आर्थिक सुधारका कार्यक्रम ल्याएको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग हुन नसक्दा रोकिएका आर्थिक तथा नीतिगत सुधारहरूलाई सरकारले अघि बढाउने निर्णय गरेको बताएका छन् ।

शुक्रबार फिन इलेक्ट्रो–टेक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र पार्टी नेतृत्वसँगको छलफलपछि पार्टीको घोषणापत्रमा समेटिएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिमा सुधार गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिए ।

उनले भने, ‘लामो समयदेखि राजनीतिक आँट र विधेयक उपयुक्त ढंगले प्रयोग गर्न नसक्दाखेरि हुन नसकेका सुधारहरुलाई हामीले अगाडि बढाउने निर्णय गरेका छौं । प्रधानमन्त्रीज्यू, सभापतिज्यूसँग छलफल गरेर पार्टीको बाचापत्रमा उल्लेख भएका दर्जनौं ऐन, नियमावली, कार्यविधिहरु सुर्धाने गरेर हामी अगाडि जाँदैछौं ।’

उनले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्दै देशमा सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्न विभिन्न महत्वाकांक्षी कार्यक्रम घोषणा गरिएको बताए । वाग्लेले २०४८ सालपछि पहिलोपटक यति व्यापक दायराका आर्थिक सुधारका कार्यक्रमहरू सार्वजनिक गरिएको दाबी गरे ।

उनले भने, ‘निजी क्षेत्रको आत्मविश्वासलाई पुनःस्थापित गर्ने, अब देशमा केही हुँदैछ है भन्ने एउटा सन्देश जाओस् भनेर हामीले महत्वाकांक्षी कार्यक्रमहरु घोषणा गरेका छौं । सायद ४८ सालपछि एकैपटक त्यति ठूलो महत्वकांक्षा राखेर अर्थतन्त्रमा सुधारहरु घोषणा गरिएको यो पहिलो पटक हो जस्तो लाग्छ ।’
अर्थमन्त्री वाग्लेले पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै सडक तथा अन्य पूर्वाधार क्षेत्रमा लामो समयदेखि अलपत्र रहेका आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । उनका अनुसार नेपाली जनताको लगानी फसिसकेका आयोजनाहरूलाई निश्चित समयसीमाभित्र सम्पन्न गरिनेछ ।

उनले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा सहरी विकासअन्तर्गतका विभिन्न अपुरा आयोजनाहरूलाई एकदेखि तीन वर्षभित्र सम्पन्न गर्ने योजनासहित सरकार अघि बढेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *