हिरासतमा रहेका थुनुवामाथि सुदन गुरुङको हप्कीदप्की

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले पूर्वगृहमन्त्री सुदन गुरुङले हिरासतमा दुव्र्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ । लिपुलेक, कालापानी र लिम्पियाधुर नेपालको अभिन्न भूभाग भएको भन्दै भारतीय दूतावास नजिक शान्तिपूर्ण प्रदर्शन प्रारम्भ हुनुअघि नै प्रहरीले बल प्रयोग गरी चार जना जेनजी अभियानता अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेका थियो ।

हिरासतमा रहेका उनीहरुलाई करिब एक घण्टापछि पूर्वगृहमन्त्री गुरुङ दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी दुव्र्यवहा गरेको अभियानले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हिरासतमा राखिएको करिब एक घण्टापछि पूर्व गृहमन्त्री तथा वर्तमान सांसद सुधन गुरुङ दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी हामीसंग अस्वाभाविक, अमर्यादित र दबाबमूलक व्यवहार गर्नुभएको थियो । उहाँले ‘तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ’, ‘यो अन्तिम मौका हो’, ‘अब सरकार र प्रहरीले समाते भने छोड्दैनौ’, ‘सरकारविरुद्ध बोल्न बन्द गर्नुहोस्’ लगायतका अभिव्यक्ति दिँदै हामीमाथि मानसिक दबाब सिर्जना गर्ने र थर्काउने प्रयास गर्नुभयो ।’

त्यसक्रममा उनी नेपालको राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषयमा समेत अपमानजनक तथा अस्वीकार्य टिप्पणी गर्दै हिरासतमा रहेका नागरिकलाई धम्क्याउने शैलीमा प्रस्तुत भएको अभियानले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि नागरिक प्रहरी हिरासतमा रहेको अवस्थामा एक प्रभावशाली राजनीतिक व्यक्तिले थुनुवा कक्षमै प्रवेश गरी यस्तो व्यवहार गर्नु कानुनी शासन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यता विपरीतको कार्य हो । हामीलाई २४ घण्टासम्म हिरासतमा राख्ने क्रममा आधारभूत मानवअधिकार अनुसार पर्याप्त खाना तथा पिउने पानीसमेत उपलब्ध नगराइएको विषयप्रति पनि हाम्रो गम्भीर आपत्ति छ । यस घटनाले प्रहरी प्रशासनमाथि राजनीतिक प्रभाव र दबाब रहेको आशंका थप बलियो बनाएको छ । अतः यस घटनाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदै हामी निम्न मागहरू प्रस्तुत गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *