काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी कारबाही मात्र पर्याप्त नहुने बताएका छन् । ग्रिन टेबल श्रृङ्खलाको छैटौँ कार्यक्रम ‘सिफारिसदेखि न्यायसम्मः कसरी हुन सक्छ प्रभावकारी कार्यान्वयन ?’ कार्यक्रममा सभापति थापाले भ्रष्टाचार नियन्त्रणका लागि दण्ड र जरिवानासँगै उपयुक्त ‘इको सिस्टम’ निर्माण आवश्यक रहेको बताए ।
उनले निजामती सेवामा कार्यरत कर्मचारीहरूको जीवन सहज, सुरक्षित र चिन्तामुक्त बनाउन सके भ्रष्टाचार न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने बताए ।
‘भ्रष्टाचारजस्ता विषयहरूको नियन्त्रण दण्ड–जरिवानाको कारणले मात्र सम्भव हुँदैन । यसको लागि इको सिस्टम पनि चाहिन्छ,’ उनले भने, ‘सिभिल सर्भिसमा काम गर्ने कर्मचारीहरूको जीवन अत्यन्त सहज र सुरक्षित बनाइएको छ । करिब ९० प्रतिशत मानिसहरूले घर, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताबारे चिन्ता गर्न नपर्ने अवस्था सिर्जना गर्न सकियो भने भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ ।’
भ्रष्टाचार नियन्त्रणका लागि केवल कडा कानुन र कारबाहीको प्रक्रियामा निर्भर रहनुभन्दा संस्थागत सुधार र कर्मचारीहरूको जीवनस्तर उकास्ने नीतिलाई पनि समान महत्व दिन आवश्यक रहेको उनको भनाई थियो ।
