काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो अराजकतन्त्र केही दिनको पाहुना मात्र भएको बताएका छन् । बुधबारदेखि काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो अराजकतन्त्र लामो समय चल्न नसक्ने बताएका हुन् ।
उनले भदौ २३ २४ को आक्रमण पहिल्यै षड्यन्त्रपूर्वक गरिएको प्रायोजित घटना भएको बताए । उनले भने, ‘यो मैले भनेको होइन, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले भनेको हो । भदौ २३ २४ को आक्रमण पहिल्यै षड्यन्त्रपूर्वक गरिएको प्रायोजित घटना थियो।’
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार संवैधानिक लोकतान्त्रिक हिसाबले बलियो अवस्थामा रहेकाले त्यस सरकारलाई संवैधानिक कानुनी संसदीय बाटोबाट अनेक बाटोबाट ध्वास्त पार्ने प्रयास सफल नभएपछि आपराधिक मार्गबाट विस्थापन गर्ने षड्यन्त्र भएको बताए ।
उनले लोकतान्त्रिक आन्दोलनको अगुवाई एमालेले गरेकै कारण एमालेमाथि आक्रमण भएको भन्दै देश सर्वोपरि हुने भएकाले यसबारे सबैले बुझ्न जरुरी रहेको बताए ।
