लिङ्देन र राणालाई ज्ञानेन्द्र शाहीको कटाक्षः तिमीहरूको यो खुरापाती राजनीतिक देखेर भगवान पनि वाक्क भइसक्या होलान्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणाको राजनीतिले भगवान पनि वाक्क भइसकेका बताएका छन् ।

पार्टीभित्र आन्तरिक विवाद भइरहेका बेला बुधबार सामाजिक संजालमार्फत शाहीले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘तिमीहरूको यो व्यवहारले संगठन मात्र होइन, कार्यकर्ताको मनोबल र युवाहरूको भरोसा पनि टुटिरहेको छ। नेतृत्व भनेको पदमा टाँसिएर बस्ने होइन, आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता हो। एउटाले नाटक गरेर विज्ञप्ति निकाल्छन्। अर्कोले भेला गर्दै फुटेर जाने संकेत देखाउँछन। यदि तिमीहरूको हिम्मत र दम छ भने ल म बस्छु तपाईहरुसँग हामी तीनजना सँगै बसौँ। छलफल गरौं आउनुहोस् यो होइन भने यो नाटक किन गरिरहेका छौ ? आफैँले आफैँलाई भला्दमी देखाउन ? तिमीहरूको यो खुरापाती राजनीतिक देखेर भगवान पनि वाक्क भइसक्या होलान्।’

शाहीले जुँगाको लडाइँ छाड्न नेताहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ। तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौं। कार्यकर्ताहरू एकअर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन्। अलिकति पनि लाज लाग्दैन ? यतिखेरको समय एकअर्कालाई आरोप लगाएर टुट्ने र फुट्ने होइन, जुट्ने हो । तर तिमीहरूलाई देखेर युवाहरूले के आशा गर्ने ? एउटालाई देशभरि हार बेहोर्दासम्म नेतृत्व छोड्नै मन छैन, अर्कोलाई चुनावै नलडी नेतृत्व लिन लिनुपर्ने । पदका लागि यति धेरै हानाथाप र अहंकार किन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *