प्रधानमन्त्रीको बचाउ गर्न रास्वपाका सांसदहरु भूमि मिचेको प्रमाण खोज्दै हिँड्नु दुःखदः खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले रास्वपाका सांसदहरु नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको आरोप लगाएकी छिन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको बताइन् ।

उनले भनिन्,‘हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडेका छन् । त्यो भन्दा दुःखद् विषय अरु केही हुँदैन । प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्ति केवल व्यक्तिगत भनाइ नभई राज्यको सर्वोच्च पदबाट आएको भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताइन् । ‘प्रधानमन्त्री व्यक्ति होइन, संस्था हो । राज्यको सर्वोच्च संस्थाबाट आएको फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढाउँछ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *