काठमाडौँ । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री बालेन साहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति असामान्य र गम्भीर रहेको बताएका छन् ।
संविधानविद आचार्यले आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गम्भीर रहेको बताएका हुन् । उनले भनेका छन्, ‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ । दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आव्हान अझै चिन्ताजनक छ । आजसम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन । यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन ।’
आचार्यले प्रधानमन्त्रीको अभिव्यक्तिले अतिक्रमणले कुनै न कुनै रूपमा फाइदा र वैधता दिएको बताएका छन् । उनले भनेका छन्, ‘यसको सबैभन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो । सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाईले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाउँछ । सिंगो देश र देशवासी झनै सचेत हुनुपर्ने समय आए जस्तो छ ।’
