काठमाडौँ । नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदनको रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री साहले नेपालले भारतको भूमि मिचेको बताएका थिए ।
त्यसपछि नेपाली कांग्रेसकी सांसद बासना थापाले नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न माग गरेकी छन् । उनले भनिन्, ‘प्रधानमन्त्रीले पनि नेपालले भारतको भूमि मिचेको भन्नुभयो, कहाँ मिचिएको हो ? अवगत गराउनुपर्यो । यो विषय गम्भीर र आपत्तिजनक छ । प्रधानमन्त्रीले तथ्यबिना दुई देशको सीमाबारे बोलेको कुरा सत्य हो भने राखिनुपर्याे, यो कुरा सही होइन भने रेकर्डबाट हटायोस् भन्ने माग गर्न चाहन्छु ।’ प्रधानमन्त्रीको कुरा सही नभएकाले रेकर्डबाट हटाउन पनि उनको माग छ ।
त्यस्तै, नेकपाका सांसद रमेश मल्लले प्रधानमन्त्रीले गम्भीर अभिव्यक्ति दिएको भन्दैत्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरे ।
उनले भने, ‘प्रश्नोत्तरका क्रममा यो मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका मूलभूत सिद्धान्तहरू हाम्रो संविधानले पनि अपरिवर्तनीय भन्छ। मुलुकको राष्ट्रिय अखण्डताको विषयमा आँच आउने खालको अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीले जसरी एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार सदनको रोष्ट्रमबाट व्यक्त गर्नुभएको छ, यो सामान्य विषय छैन । यो कुरा धेरै नै गम्भीर छ। मुलुकका अरु कुनै सरकार प्रमुख, राष्ट्रप्रमुखहरूले मञ्चमा बसेर हामीले फलानो देशको भूमि मिचेका छौँ भन्छन् होला ? यो कति गम्भीर विषय छ ? सम्माननीय प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई हामीले संसदको तर्फबाट करेक्सन गर्नैपर्दछ। यो गम्भीर अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइनुपर्दछ।’
एमाले प्रमुख सचेतक पद्मा अर्यालले नेपालको भूमिको विषयमा राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधामनन्त्रीले भारतले मात्र होइन, नेपालले पनि भारतको जमिन मिचेको जानकारी आफूलाई आएको बताएका थिए ।
