किन मानिसलाई भ्रम प्रिय लाग्छ ?

-डा. रामकृष्ण तिमल्सेना ।

सूर्य स्वयं जल्छ। आफ्नो सम्पूर्ण अस्तित्वलाई आगोमा परिणत गरेर उसले पृथ्वीलाई जीवन, ऊर्जा र उज्यालो प्रदान गर्दछ। वनस्पति, जलचक्र, ऋतु, प्राणवायु तथा सम्पूर्ण जीवसृष्टिको आधार सूर्य नै हो। तर विडम्बना हेर्नुहोस् न मानिस सूर्यलाई प्रत्यक्ष रूपमा हेर्न सक्दैन। उसको तेज असह्य प्रतीत हुन्छ। मानिस सूर्यको आवश्यकता स्वीकार गर्दछ तर उसको समीप जान हिच्किचाउँछ।

तर चन्द्रमा स्वयंमा प्रकाशयुक्त छैन। उसले सूर्यकै प्रकाश उधारो लिएर चम्किन्छ। उसले ताप प्रदान गर्दैन, ऊर्जा उत्पादन गर्दैन र जीवनको मूल स्रोत पनि होइन। तथापि मानिसहरू चन्द्रमाको प्रशंसा गर्छन्, कविता रचना गर्छन् तथा प्रेमको प्रतीकका रूपमा प्रस्तुत गर्छन्। यही विरोधाभास वास्तवमा समाजको गहिरो मनोवैज्ञानिक संरचनाको प्रतिबिम्ब हो। समाजले प्रायः त्याग र समर्पण गर्ने व्यक्तिभन्दा आकर्षक देखिने व्यक्तिलाई बढी सम्मान र प्रशंसा प्रदान गर्दछ।

सूर्यः त्याग, सत्य र संघर्षको प्रतीक

सूर्य ती व्यक्तिहरूको प्रतीक हो, जो समाजका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्छन्। वास्तविक शिक्षक, वैज्ञानिक, दार्शनिक, किसान, श्रमिक, सैनिक, साधक तथा सुधारकहरू सूर्यजस्तै हुन्छन्। उनीहरू स्वयं संघर्षपूर्ण जीवन बिताउँछन् तर समाजलाई ज्ञान, चेतना र उज्यालो प्रदान गर्छन्। उनीहरूको योगदान बिना सभ्यताको विकास सम्भव हुँदैन, तर उनीहरू प्रायः लोकप्रियताको केन्द्रमा रहँदैनन्।

सत्य सधैं सहज हुँदैन। सत्यले भ्रमलाई भंग गर्छ, जिम्मेवारीको बोध गराउँछ र मानिसलाई परिवर्तनको चुनौती दिन्छ। त्यसैले समाजले धेरैपटक सत्य बोल्ने व्यक्तिलाई सहज रूपमा स्वीकार गर्न सक्दैन। इतिहासमा अनेक महान व्यक्तित्वहरू आफ्नै समयमा अस्वीकृत भएका छन्। कसैलाई विषपान गराइयो, कसैलाई कारागारमा राखियो र कसैलाई पागलको संज्ञा दिइयो। किनकि मानिसलाई कठोर सत्यभन्दा आरामदायी भ्रम बढी प्रिय लाग्छ। सूर्यको तेज जसरी आँखाले सहन सक्दैन, त्यसरी नै समाजले महान चेतनाको प्रकाश पनि धेरैपटक सहन सक्दैन।

चन्द्रमाः उधारो चमक र लोकप्रियताको प्रतीक

चन्द्रमा ती व्यक्तिहरूको प्रतीक हो, जो अरूको श्रम, ज्ञान वा संघर्षको प्रकाश लिएर चम्किन्छन्। समाजमा यस्ता धेरै मानिसहरू हुन्छन्, जो स्वयं सिर्जना गर्दैनन् तर प्रस्तुतिकरणमा दक्ष हुन्छन्। उनीहरू वास्तविक उत्पादनभन्दा छवि निर्माणमा बढी सफल देखिन्छन्। आकर्षक शब्द, भावनात्मक शैली तथा बाह्य चमकद्वारा उनीहरू लोकप्रियता हासिल गर्छन्।
मानव मनोविज्ञान धेरै हदसम्म भावनात्मक तथा दृश्यात्मक हुन्छ। त्यसैले मानिस प्रायः शीतलता र आकर्षणतर्फ आकृष्ट हुन्छ। चन्द्रमा रोमान्टिक, शान्त र कोमल प्रतीत हुन्छ। यसको विपरीत सूर्य अनुशासन, ताप तथा कठोर यथार्थको प्रतीक हो। समाजले धेरैपटक यथार्थभन्दा अनुभूतिलाई बढी महत्व दिन्छ। यही कारणले लोकप्रियता र वास्तविक योगदान सधैं समानार्थी हुँदैनन्।

समाजको मनोविज्ञानः किन मानिसलाई भ्रम प्रिय लाग्छ ?

मानिसलाई ती कुराहरू प्रिय लाग्छन्, जसले उसलाई सहज अनुभूति गराउँछन्। सत्यले मानिसलाई आफ्ना कमजोरीहरूसँग सामना गराउँछ तर भ्रमले अस्थायी सान्त्वना प्रदान गर्दछ। त्यसैले समाजले धेरैपटक मनोरञ्जन प्रदान गर्ने व्यक्तित्वलाई सम्मान गर्छ तर जिम्मेवारी र चेतना जगाउने व्यक्तित्वबाट दूरी कायम गर्छ।

वास्तविक योगदान धेरैपटक अदृश्य रहन्छ। किसानले खेतमा गरेको श्रम, शिक्षकले पुस्ता निर्माणमा दिएको योगदान तथा आमाबुबाले सन्तानका लागि गरेको त्याग– यी सबै सूर्यजस्ता हुन्। तर मानिसले तिनलाई दैनिक सामान्य विषयका रूपमा लिन्छ। जबसम्म ती चीजहरू हराउँदैनन्, तबसम्म तिनको वास्तविक मूल्य बुझिँदैन। अर्कोतर्फ, बाहिरी चमक, लोकप्रियता, सामाजिक सञ्जालको प्रसिद्धि तथा आकर्षक प्रस्तुतिले तुरुन्तै मानिसको ध्यान आकर्षित गर्छ। यही कारणले आजको समाजमा धेरैपटक वास्तविक कर्म गर्नेभन्दा देखावटी छवि निर्माण गर्नेहरू बढी चर्चित हुन्छन्।

हामी सबैले आफ्नो जीवनमा यस्ता अनुभव गरेका हुन्छौं। जो व्यक्ति मौन रूपमा हाम्रो लागि संघर्ष गरिरहेको हुन्छ, उसको मूल्य हामी ढिलो गरी बुझ्छौं। तर जो व्यक्ति केवल मीठा शब्द बोल्छ, आकर्षक व्यवहार प्रदर्शन गर्छ वा क्षणिक खुशी प्रदान गर्छ, उसलाई हामी तुरुन्तै मन पराउँछौं। यो केवल समाजको समस्या मात्र होइन, हाम्रो व्यक्तिगत मनोविज्ञानको पनि प्रतिबिम्ब हो।
सायद यही कारणले संसारमा धेरै सूर्यहरू एक्लै जलिरहेका छन्। उनीहरूलाई सबैले उपयोग गर्छन् तर सबैले बुझ्दैनन्। अनि धेरै चन्द्रमाहरू प्रशंसित भइरहेका छन्, जबकि उनीहरूको चमक पनि कसैको त्यागबाट प्राप्त भएको हुन्छ।
आजको यो लेखको उद्देश्य कसैलाई सानो वा ठूलो देखाउनु होइन। केवल यति स्मरण गराउनु होकिजीवनमा जसले तपाईंलाई वास्तविक उज्यालो प्रदान गरेको छ, उसको मूल्य समयमै बुझ्न सकियोस्। किनकि सूर्य अस्ताएपछि मात्र अन्धकारको वास्तविक अर्थ अनुभूत हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *