पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए

ढोरपाटन (बागलुङ) । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय पर्यटकहरु होटलमा कोठा नपाएर फर्कनुसमेत परेको छ ।

बिहीबारदेखि बिदा भए पनि बुधबारबाटै ढोरपाटनका होटल भरिएका थिए । एकै दिन सर्यौँको सङ्ख्यामा पर्यटक आउँदा होटलमा व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए । ढोरपाटनमा २७ वटा होटल र १२ वटा घरबास (होमस्टे) छन् ।

पछिल्लो समय ढोरपाटनको प्रचार व्यापक हुँदा एक÷दुई दिन बिदा हुँदा साथ पर्यटक आउने गरेको अध्यक्ष पुनले बताए । गत जेठ १२ गतेबाटै सम्पर्क गरेर आएका पाहुनालाई होटल व्यवसायीले राखे पनि अरूले बास पाउन नसकेको उनको भनाइ छ ।

“एकै पटक लामो बिदा भएर होला पाहुन थामिनसक्नु आउनुभएको छ, वरपरका खाली घरहरु पनि भएका छन्, होटल, होमस्टे कुनै पनि खाली छैनन्,” अध्यक्ष पुनले भने , “मेरो सम्पर्कमा आएकै करिब एक सय जना पर्यटकले बास नपाएर फर्किनुभयो, अरू व्यवसायी साथीहरुको सम्पर्कमा आउनुभएका पाहुना पनि धेरैनै फर्किनु प¥यो, अब ढोरपाटन आउने पाहुनाले होटलको अवस्था बुझेर मात्रै आउन आग्रह गर्छौँ ।”

ढोरपाटनमा एक रातमा ७०० जना पाहुन राख्न सक्ने होटल तथा होमस्टेको क्षमता छ । तर त्योभन्दा झन्डै दोब्बर बढी पर्यटक आउँदा होटल व्यवस्थापन गर्न समस्या भएको होटल व्यवसायी शिवराज कँडेलले बताए । अरू बेला पनि पर्यटक आइरहेको भन्दै अहिले बिदाले गर्दा एकै दिन हजार बढी पर्यटक ढोरपाटनमा आएको उनको भनाइ छ ।

आफूले ८० जना पाहुना राखेको सुनाउँदै २०० जनालाई अन्य होटलमा पठाउनु परेको बताए । यतिबेला पर्यटकको भीडभाड हुँदा ढोरपाटनमा मेला लागेजस्तो भएको उनको भनाइ छ । आएका पाहुनालाई फर्काउने चाहना नहुँदा नहुँदै पनि फर्काउन बाध्य भएको कँडेल बताउँछन् ।

पछिल्लो समय बुर्तिबाङ–ढोरपाटन सडक व्यवस्थित बनेपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको हो । बुर्तिबाङ बजारदेखि करिब एक घण्टामै ढोरपाटन पुग्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दै गएको छ । गत वर्षसम्म सडकको दूरावस्था थियो ।

गुल्मीबाट शुक्रबार दिउँसो ढोरपाटन घुम्न पुगेका महेश खड्काले होटल नपाएपछि बुर्तिबाङ बजार झरेर बस्नु परेको सुनाए । १३ जनाको समूहमा तीन दिन घुम्ने योजनासहित आएको भन्दै होटलमा बास नपाएपछि एकै दिनमा फर्किनु परेको गुनासो गरे । बिहीबार ढोरपाटन पुगेकाहरुले मात्रै होटल पाएको खड्काले बताए ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यो याममा बेँसी क्षेत्रमा गर्मी हुने हुँदा ढोरपाटनमा शीतलता खोज्दै धेरै पर्यटक आउने गरेको बताए । एकै पटक पर्यटक आउँदा खाना, बस्न र अन्य व्यवस्थापनमा समस्या हुने भन्दै होटल व्यवसायीसँग सम्पर्क गरेर मात्रै ढोरपाटन आउन कायतले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *