काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका तराई र पहाडी भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आज राति सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम, कर्णाली र, गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
