बुखारेस्ट । युक्रेन युद्धको असर नाटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ । युक्रेनमाथिको रातभरको रुसी आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन् । घटनापछि रोमानियाले नाटोसँग थप एन्टी–ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ ।
रोमानियाको रक्षा मन्त्रालयका अनुसार ड्रोनलाई देशको हवाई क्षेत्रमा राडारमार्फत निगरानी गरिएको थियो । त्यसपछि उक्त ड्रोन पूर्वी सहर गलाटीस्थित एउटा अपार्टमेन्ट भवनको छतमाथि खस्दा आगलागी भएको थियो । घटनामा दुई जनालाई सामान्य चोट लागेको छ भने भवनका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
डेन्यूब नदी किनारमा रहेको गलाटी सहर मोल्दोभा र युक्रेन सीमाको नजिक पर्छ । घटनापछि प्रहरी, आपत्कालीन सेवा र अन्य निकाय तत्काल परिचालित भएका थिए । रोमानियाली सेनाले दुई वटा एफ–१६ लडाकू विमान र एउटा हेलिकप्टर परिचालनको अनुमति दिएको थियो भने स्थानीय बासिन्दालाई सतर्कता सन्देश पठाइएको थियो ।
घटनालाई रोमानियाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भनेको छ । मन्त्रालयले नाटोसँग गठबन्धनको हवाई सुरक्षालाई मजबुत बनाउन तथा एन्टी–ड्रोन प्रणालीको तीव्र आपूर्तिको मागसमेत गरेको छ ।
