काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ संसदमा प्रयोग गरिएका कुर्सी कुन देशबाट आयात गरिएको काठबाट बनेको भन्दै प्रश्न गरेकी छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा सांसद डाँगीले नेपालमा काठको पर्याप्त सम्भावना हुँदाहुँदै पनि वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेकोप्रति आपत्ति जनाएकी हुन् ।
उनले स्वदेशी उत्पादन बढाउन राज्यको नीति स्पष्ट हुनुपर्नेमा जोड दिँदै, स्वदेशी काठ निकाल्न फाइल रोकिने तर विदेशी काठका लागि सजिलै एलसी खुल्ने अवस्थाबारे सरकारलाई प्रश्न गरेकी हुन् ।
उनले भनिन्, ‘हामी दुई–तीन दिनभित्रै नयाँ संसद् भवनमा सर्दैछौँ । उक्त भवनमा सभामुख र हामी सांसदहरू बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ? नेपालको आफ्नै काठको सदुपयोग हुन नसक्दा वार्षिक अर्बौँ रुपैयाँको काठजन्य सामग्री आयात भइरहेको छ ।आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ, तर विदेशी काठ भित्राउन भने सजिलै एलसी खुल्छ। यो कस्तो खालको नीति हो ? मैले सबै वन फँडानी गर्नुपर्छ भनेको होइन, तर हामीसँग भएको प्राकृतिक स्रोतको सही सदुपयोग गर्नुपर्छ। त्यसैले, यो परनिर्भरता बन्द गर्नैपर्छ र यसको सुरुवात यही संसद् भवनबाटै हुनुपर्छ।’
महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा नेपालको काठको सदुपयोग नहुँदा वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेको उल्लेख गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
