काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुख डीपी अर्यालसँग माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ (१) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरी सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु । कि त प्रधानमन्त्रीज्यूलाई यहाँ बोलाइदिनु पर्यो, होइन भने मलाई निस्केर जा भन्नुपर्यो ।’
उनले आफू रिसाउने तथा कराउने पक्षमा नरहेको र सभामुखको बाध्यता आफूले बुझेको बताए । उनले आफू बदमास विद्यार्थीजस्तो भएको टिप्पणी पनि गरे । सभामुखले हिजो आफ्नो धारणा राखिसकेको भन्दै उनलाई बस्न आग्रह गरे ।
सभामुख अर्यालले कुन विषयमा कसरी र कसलाई कसरी रुलिङ गर्ने भनेर सभामुखलाई निर्देशन दिने अभ्यास नभएको बताए । त्यसपछि अध्यक्ष सम्पानङ सदनबाट बाहिरिएका थिए ।
