ऐन महरको प्रश्नः के बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ?

काठमाडौं । विपक्षी दलले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन साहको खोजी गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले पर्यटनमन्त्री खडक पौडेललाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गर्न अनुमति दिएपछि विपक्षी सांसद उठेका थिए ।

विपक्षी सांसदहरु उठेर विरोध गरेपछि सभामुखले विपक्षी दलका नेताहरुलाई पालैपालो बोल्न समय दिएका थिए । सुरुमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बोल्दै प्रधानमन्त्रीले संसदको उपेक्षा गरेको आरोप लगाइन् । उनले सरकार बहुमतको दम्भमा चलेको भन्दै आपत्ति जनाइन् । उनले संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर नठान्न चेतावनी दिइन् ।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री संसदमा आएर उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गरे । उनले प्रधानमन्त्री खोपीको देउता बन्न खोजेको हो भन्दै प्रश्न गरे । उनल भने, ‘प्रधानमन्त्रीले यो सदनलाई किन यो ढंगबाट बेवास्ता गर्न खोजिरहनुभएको छ, खोपीको देउता बन्दै हुनुहुन्छ, म सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु– प्रधानमन्त्री बालेन साह खोपीको देउता बनाउँदै घन्टी बजाएर पूजा गरेको हो ? के बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ?’

महरले संसद्मा जवाफ दिन नआएका प्रधानमन्त्रीले गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने भन्ने सुनिएको भन्दै आपत्ति जनाए ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सांसद युवराज दुलालले प्रधानमन्त्रीले सदन छलेको भन्दै आपत्ति जनाए । उनले पनि प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने बताए ।

राप्रपाकी सांसद खुश्बु ओलीले पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै आपत्ति जनाइन् । प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जवाफ दिन माग गरेपनि प्रधानमन्त्री भने सदन छल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *