काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका नेपाल आउने भएकी छन् । उनी जेठ १६ मा नेपाल आउन लागेकी हुन् ।
यसअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल आएका थिए । त्यस्तै उनीपछि ट्रम्पका दक्षिण तथा मध्य एसिया विशेषदूत सर्जियो गोर नेपाल आएका थिए । यी अधिकारी भन्दा रोजर्स वरिष्ठ अमेरिकी उच्च अधिकारी हुन् । चैत १३ मा बालेन साह नेतृत्वको सरकार गठन भएपछि अमेरिकी चासो निकै बढेको छ ।
यसअघि आएका अमेरिकी अधिकारीले रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने र नेपालको लगानी वातावरण सुधारका विषयमा छलफल भएको थियो । तर प्रधानमन्त्रीसँग भने उनीहरुको भेटवार्ता भएको थिएन ।
