प्रधानमन्त्री स्वेच्छाचारी बनेको एमालेको आरोप, सदनमा जवाफ दिन आउनैपर्ने अडान

काठमाडौँ । प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा भएको व्यवस्था बमोजिम प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग सांसदले गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समय सकिएपछि प्रतिपक्षीले उठेर बिरोध जनाएकामा सभामुख डीपी अर्यालले प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ऐन महरलाई समय दिएका थिए । उनले प्रधानमन्त्रीको उपस्थितिको माग गरे ।

प्रधानमन्त्रीले संसदलाई छलेको भन्दै सांसद महरले नियम ५६ लाई अनदेखा गर्दा प्रधानमन्त्री स्वेच्छाचारी हुने भएकाले सदनमा बोलाउन सभामुखसँग माग गरेका थिए । प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्था नियमावलीमा भएकाले सभामुखले पहिलो हप्ताको कुनै एक घण्टा गर्ने व्यवस्था आज जेठको ७ गतेसम्म नभएकाले प्रमलाई उपस्थित गराएर सदन अघि बढाउन उनले माग गरे ।

प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसद आरेन राईले विधि र नीतिको शासनभन्दा माथि हुने गरी नियमावली बाहिर गएर संसद चल्न नसक्ने भएकाले सभामुखले प्रधानमन्त्रीलाई बोलाउनलाई रुलिङ गर्न माग गरे ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सासद युवराज दुलालले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने व्यवस्था उल्लङ्घन भएको, संविधान मिचिएको र सार्वभौम जनताप्रतिको सम्मान यही हो भनी प्रधानमन्त्रीलाई बोलाउन माग गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद खुस्बु ओलीले सदनमा १५ जनाले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने, त्यसमा सत्तापक्षकाले पनि सोध्न पाउने भएकाले प्रमलाई उपस्थित बोलाउन माग गरिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले कार्यसूची अनुसार संसद् अघि बढ्नुपर्ने बताए । सभामुख अर्यालले पटक पटक सांसदलाई बस्न अनुरोध गर्दा नबसेपछि आजै १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *