अमेरिकाद्वारा राहुल क्याष्ट्रोमाथि हत्या अभियोगमा मुद्दा चलाउने तयारी

वासिङ्टन । अमेरिकाले सन् १९९६ मा क्युबा र फ्लोरिडाबीच दुई विमान खसालिएको घटनामा क्युबाका पूर्वराष्ट्रपति राहुल क्याष्ट्रोमाथि अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्रसहित विभिन्न अभियोग दर्ता गरेको छ ।

बुधबार सार्वजनिक गरिएको अभियोगमा क्याष्ट्रोसहित अन्य पाँच जनामाथि क्युबा–अमेरिकी समूह ‘ब्रदर्स टु द रेस्क्यु’ का विमानमाथि गोली प्रहार गरी तीन अमेरिकीसहित चार जनाको हत्या गरेको आरोप लगाइएको छ ।

हाल ९४ वर्षीय क्याष्ट्रो उक्त घटनाका बेला क्युबाको सशस्त्र बल प्रमुख थिए । विमान खसालिएको घटनापछि क्युबाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक आलोचना भएको थियो ।

अमेरिकाले क्युबामाथि राजनीतिक दबाब बढाइरहेका बेला राष्ट्रपति डियाज–कानेलले यी अभियोगलाई ‘कुनै कानुनी आधार नभएको राजनीतिक चाल’ भन्दै अस्वीकार गरेका छन् ।

मियामीस्थित फ्रीडम टावरमा आयोजित कार्यक्रममा कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लेचले क्याष्ट्रोेमाथि विमान ध्वस्त पारेको तथा चार जनाको हत्यासम्बन्धी अलग–अलग अभियोग लगाइएको जानकारी दिए ।

उनले ‘अमेरिका र राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकलाई कहिल्यै नबिर्सने’ बताएका छन् । हत्या अभियोगमा मृत्युदण्ड वा आजीवन कारावाससम्मको सजाय हुन सक्ने जनाइएको छ ।

यता राष्ट्रपति डियाज–कानेलले अमेरिकामाथि झुट फैलाएको तथा क्युबाली जनतामाथि सामूहिक सजाय थोपरेको आरोप लगाएका छन् । उनले विमान खसालिएको घटना ‘क्युबाको वैध आत्मरक्षा’ भएको दाबी गरेका छन् ।

अमेरिकी पक्षले क्याष्ट्रोविरुद्ध पक्राउ पुर्जी जारी गरिएको पुष्टि गरेको छ । उनलाई अमेरिकामा ल्याएर मुद्दा चलाउने विषयमा भने स्पष्ट जानकारी दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *