नयाँका नाममा सबै परम्परा भत्काउँदै गएमा संसद्को औचित्य समाप्त हुने अमरेशको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले परम्परा भत्काउने नाममा जथाभावी नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेटको विनियोजन प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नदेखेपछि असन्तुष्टि जनाएका हुन् ।

उनले बैठकमा अर्थमन्त्री हुनुपर्नेमा परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित भएको भन्दै बजेट अर्थमन्त्रीले बनाउने बताए । उनले आफ्नो २० वर्षे कार्यकालमा पहिलोपटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आफू अचम्मित भएको बताए ।

उनले रेकर्डमा राख्न पनि यो कुरा बोलेको बताए । उनले सांसदले सबै परम्परा भत्काउँदै गएमा संसद्को औचित्य समाप्त हुने चेतावनी दिए ।

उनले भने, ‘म पहिलोचोटी २० वर्षको कार्यकालमा पहिलोचोटी देख्दैछु, अर्थमन्त्री नभएर पनि बजेटको विनियोजन हुँदैछ ।  हामी पाँचौं चोटीको सांसदले पनि सबै परम्परा भत्काउँदै गयो भने यो संसद्को औचित्य समाप्त हुन्छ । हाम्रो देश, हाम्रो संविधानले पार्लियामेन्ट्रि सिस्टमको अंगीकार गरिरहेको छ । जहाँ सबै सांसद बराबर हुन्छ । सरकारसँग गरिन्छ र कुरा पनि जनताको कुरा राखिन्छ ।’

सिंहले परम्परा तोड्ने नाममा सबै परम्परा नतोडिने बताए । उनले भने, ‘नयाँको नाममा सबै चिज भत्काउने होइन । त्यसो भए सिंहदरबार पनि भत्काऔं, प्रधानमन्त्री पद पनि भत्काऔं, मन्त्री पद पनि भत्काऔं । सबै चिज चेन्ज गरौं न । किनकी औचित्यपूर्ण हुनुपर्छ । जति व्यस्त भए पनि एक दुई दिन छलफल चल्छ, अर्थमन्त्रीले बजेट बनाउने होइन, टिमले बनाउने हो । अर्थमन्त्रीले त पोलिसी गाइड गर्ने हो । म विषयमा जान चाहन्छु, मन्त्री नभए पनि कम्तीमा रेकर्डमा रहोस् ।‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *